ब्लग

तिमीसँग ब्रेकअप भएपछिको प्यारो जिन्दगी
SHARES

फागुन २७, २०७३

    आज सम्झिरहेछु तिमीलाई…

    तिमीलाई याद होला नहोला ती दिनहरु!

    जुन दिन तिमीले मलाई छोडेर नयाँ जिन्दगीको सुरुवात गरेका थियौ। मलाई मनपर्ने तिमी तर खै मेरो भाग्यमै रहेनछौ र, मैले हाँसीहाँसी तिमीलाई मेरो जिन्दगीबाट विदाई गरेको आज ३२ वर्ष पुग्यो।

    आज मेरी छोरीको २२ औं जन्मदिनमा सम्झिरहेछु तिमीलाई। तिमीले छोड्दा २२ वर्षकी त थिए। हाँसेरै बिदाइ गरेँ तिमीलाई। म चाहन्नथे मेरा आँशुले तिम्रो खुशी पखालियोस्।

    तिमीले छोडेका दिनहरुमा म कता कता भौतारिएन र! तिमीले मोटरसाइकलमा राखेर घुमाएका दिन सम्झीसम्झी एक्लै स्कुटीमा हुइँकिरहे। मर्न मन लाग्यो कतिचोटी त, अनि मुसा मार्ने विष र एसिड खोज्नतिर लागे। तिम्रा याद बिर्साउन स्कुटी दुर्घटना होस् भनेर बत्तिएँ पनि। सानातिना दुर्घटना त कति गरेँ कति। तिम्रो यादबाट मुक्ति पाउन स्कुटी रुखमा ठोक्काएँ। तिमीलाई याद गरिरहने म कोतरिए मात्रै तर, स्कुटी नराम्ररी कुच्चियो। तिम्रा याद भुलाउने घातक अभियानमा लागेकी मलाई आफैदेखि दया लागेर आयो। तिम्रा याद पखाल्न काशी गएँ। गंगा स्नान गरे। अझैपनि त्यो स्कुटी तिम्राो याद सँगालेर कुँजो परी आजसम्म माइतीमा बसिराखेको छ।

    जिन्दगी त्यतिबेला सुन्दर लाग्यो जुन बेला आफूले माया गर्ने भन्दा आफूलाई माया गर्ने मान्छे पाएँ। रुँदा रुँदा थाकेकी म। मर्न खोज्दा खोज्दा पनि बाँचेकी म। सायद दुखपछिको सुख र विछोडपछिको मिलन। हारपछिको जीतले नै त जिन्दगीमा सुख मिल्ने रहेछ। विछोडको पीडा खप्न नसकेर मरेकी भए म। अध्याँरोपछिका यी सुन्दर दिनहरु कसरी पाउन सक्थे र!

    जिन्दगीमा सुखैसुख मात्र हुन्थ्यो भने सुख पाउनु र नपाउनुको के अर्थ रहन्थ्यो र! अहिले विगतमा तिम्रा याद मेटाउन मर्ने अभियानमा लागेका दिन सम्झेर पछुतो लाग्छ।

    सोच्छु, मैले हरेश खाएर मरेको भए! प्रश्न गर्छुं आफैलाई, आज जिन्दगीको मजा लुट्ने महाचोर म कसरी बन्न सक्थे? म सम्झिन्छु भगवानले मेरै सफल र सुखी जिन्दगीको लागि नै तिमीबाट छुटाएका रहेछन्। म कस्ती पापी! मन्दिरमा कति थुके! भगवानलाई कति सरापे, सरापे!

    त्यतिबेला तिम्रा यादहरुले अति सताएको थियो। जिन्दगी नै कुरुप लाग्ने घाउ बनाएको थियो मन, मष्तिश्क र मुटुभरी। आफू आफैलाई यति कुरुप लाग्थ्यो कि, ठ्याक्कै कुच्चीएर कामनलाग्ने स्कुटीजस्तै बनेकी थिए। तर, मर्न सकिनँ। धक फुलाएर बाँच्ने आँटपनि गर्न सकिन।

    दोधारमा थियो मन। जिन्दगी र मृत्यु वरपर बिचमा म। बाँच्न लेखेको रहेछ भाग्यरेखामा। भावीले जिन्दगीको धाँगो पठायो बिहेको प्रस्तावको रुपमा। घरकाले त्यो प्रस्ताव मसम्म पुर्‍याए। गाउँमा तरकारी खेती गरेर बसेको केटासँग बिहे गर्ने-नगर्ने, प्रस्ताव आयो। तिम्रा यादहरुबाट टाढा जानका लागि भएपनि बिहे गर्न राजी भए। त्यो निर्णय मेरो जिन्दगीको सुरुवात थियो, सुन्दर सुरुवातको हकदार थियो।

    म कति सफल भएँ कति असफल? यत्ति हो कि म आज खुशी छु। उहाँ सबेरै तरकारी लिएर बजार जानुहुन्छ। म खाना बनाएर खाएर स्कुल पढाउन जान्छु।

    छोरीको जन्मदिन मनाउन हामी तिम्रो सहरमा आयौं। यो सहरले तिम्रै याद बोकेर ल्याए। तर, म पहिले जस्तो कमजोर कहाँ छु र! म तिमीले छोडिदिएकोमा खुशी छु। तिमी मेरै हुन्थ्यौ त खुशी रहन्नथे यतिधेरै। म दुखी हुँदा नदुख्ने तिम्रो मन आज तिम्रा याद मेरो खुशी देखेर रिसले मुर्मुरिदै बाटो लागे। तिम्रा यादले सताएको बेला, आँशुले मुख धोएको बेला, उहाँकै काखमा बसेर कति रोए कति।

    म त्यहीँ भाग्यमानी हुँ, जो आफ्नो श्रीमान काखमा बसेर पूर्वप्रेमीसँगका पलपल कहिले आँशु र हाँसोसँगै बाँड्छे। संसारको सबैभन्दा सुन्दर पुरुष मिल्नु रहेछ र पो मलाई तिमी मिलेनौं। के तिमी सक्छौ सुन्न तिम्री पत्नीको पुर्वप्रेमीको बारेमा। के तिमीसँग आँट छ सुन्ने तिम्री पत्नी तिम्री पत्नी बन्नु भन्दा पहिले उसको पूर्वप्रेमीसँग रोमान्स गरेको। थाहा छ, सक्दैनौ। कुनै केटाको फोन आउने बित्तिकै त शंका गर्ने तिमी यस्तो कुरा कसरी सुन्न सकौला!

    तर, मैले ती सब कुराहरु सुन्न सक्ने। मेरो विगत जान्दा-जान्दै पनि झन् धेरै माया गर्ने मान्छे पाएको छुं। तिमीले छोडेपछिका ९ वर्षसम्म म कति खिइएँ होला। जवानी त तिमीलाई नै दिएर रित्याएको थिएँ। त्यही रित्तिएको म। उहाँको माया र उहाँसँगको बिहेले खुशी नै खुशी दिएको छ। म भरिएकी छु उहाँले दिएको खुशीले। उहाँको मायाको जवानीले रङ्गिएकी छु। साँच्ची म भन्छु तिमीलाई आज मेरी छोरीले जन्म दिनमा बोलाएकी भए तिमी साँच्चै झुक्किन्छौ म त्यहीँ तिमीले छोडेको सुन्तु हो भनेर। किनकी म झन्झन् जवान हुँदै गएकी छु।

    २२ वर्षमा म के सुन्दरी थिएँ होला र जुन अहिले छु। त्यो सुन्दरता तिमीले छोडेपछि जिन्दगीले तय गरेको नयाँ यात्राले दिएको हो। आफूभन्दा धेरै माया गर्ने मान्छे मिलेको छ। खुशीले नै त रहेछ मन जवान भइरहने। यो सम्झेर पनि म सधैँ खुशी हुन्छु कि सायद तिमीसँग हुन्थे भने म बिहे गरेको भोलिपल्टै म कुरुप बनिसक्थें। किनकी तिम्रो खुशी खोसेर म कतिन्जेल खुशी रहन्थे र। तिम्रा खुशीका लागि तिमीलाई त्यागेको बदलामा समयले ढिलै भएपनि उचित मुल्याङ्कन गरेर खुशी नै खुशी छोडेर गएको छ।

    बस्, सहन सक्नुपर्दो रहेछ चोटहरु। चोटहरु जति धेर चोटिला हुन्छन्, ती सहेका बापत बदलामा मलहम मिल्छ। आनन्द मिल्छ। खुशी मिल्छ। शान्ति मिल्छ। बस्, समयलाई पर्खिनुपर्छ। परिस्थितिले चोट दिँदा दिँदा थाकेर समयलाई खुशी नै खुशीको भारी बोकाएर पठाउने रहेछन्। साँच्चै जिन्दगी कति सुन्दर छ। कति प्यारो छ…!

सीमाना आत्रेय

आत्रेय कान्तिपुर कलेज काठमाडौंकी स्नातक तहकी विद्यार्थी हुन्। उनी कथा, नियात्रा र ब्लग लेख्छिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]