महानगरका अधिकारी भन्छन्‌ : कमल पानीमा फुल्छ, अब हिलो किन चाहियो र ?

|

काठमाडौं : ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी २०७२ सालमा भूकम्पले भत्कायो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनःनिर्माण कार्य शिलान्यास गरिन। काम हुँदै गर्दा पोखरीमा डोेजर चल्यो। सम्पदा अभियन्ताहरू काठमाडौं महानगरपालिकाले पोखरीको इतिहास मेटेर ‘स्वमिङ पुल’ बनाउन लागेको भन्दै विरोधमा उत्रिए।

नभन्दै त्यही दबाबका कारण विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने शैली सिकाइयो। भक्तपुरका महिलाहरूलाई बोलाएपछि उनीहरूले पोखरी बनाए। त्यसपछि बल्ल भूकम्प गएको पाँच वर्षपछि रानीपोखरी मल्लकालिन स्वरुपमा फर्कियो। महानगरपालिकाले जुन गल्ती रानीपोखरीमा गरेको थियो, त्यही गल्ती फेरी कमलपोखरीमा दाेहाेर्‍याएकाे छ।

अहिले ढुंगा, सिमेन्टको प्रयोग गरेर पोखरीको पुनःनिर्माण काम भैरहेको छ। त्यही काम देखेपछि रानीपोखरीमा जस्तै सम्पदा अभियन्ता फेरी विरोधमा उत्रिएका छन्। 

शनिबार सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर, सञ्जय अधिकारी लगायत अभियन्ता गएर पोखरी अवलोकन गरे। अहिले भैरहेको काम देखेपछि उनीहरू सन्तुष्ट छैनन्। उनीहरूको निष्कर्ष छ : अब प्राकृतिक तथा ऐतिहासिक पोखरीको अस्तित्व समाप्त हुने भयो।

यस्तो छ डिजाइनमा

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते पोखरी पुनःनिर्माण शिलान्यास गरेका थिए। महानगरपालिकाले पोखरी निर्माणमा करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ। जय धनञ्जय/कँडेल जेभी,रानीबारी काठमाडौंले निर्माण ठेक्का पाएको छ।

सम्झौता अनुसार कमलपोखरीको पुनःनिर्माण गत असार १५ गते नै सम्पन्न गर्नुपर्ने थियो। तर, अहिलेसम्म पनि पोखरी निर्माणले गति लिन सकेको छैन।

महानगरपालिकाले पारित गरेको डिजाइन अनुसार पोखरी परिसरमा खुला व्यायाम, ब्याडमिन्टन र बास्केटबल कोर्ट रहनेछ। सौन्दर्यीकरण गर्न कमलपोखरीको पूर्वी भागमा मूल प्रवेशद्वार बन्ने, पोखरीको चारै कुनामा ४/४ मिटरको पाटी निर्माण गरिने छ।

त्यस्तै, बालबालिकाका लागि खुला पार्क, बिजुली बत्ती जडान र पोखरीका चारै कुनामा कमलका फूल राख्ने लगायत योजना छ। तर, यस योजनालाई मान्न सम्पदा अभियन्ता तयार छैनन्। 

अभियन्ताको प्रश्न : कमलको फूल कङ्‌क्रिटमा फुल्ला ?

अभियन्ता आलोकसिद्धि तुलाधरले पोखरीको ऐतिहासिकता मास्ने गरी महानगरपालिकाले पुनःनिर्माण थालेको बताए। उनले भने, ‘महानगरपालिकाले पहिला रानीपोखरीमा गल्ती गर्‍याे, फेरी त्यही गल्ती कमलपोखरीमा गरेको छ, त्यस पोखरी कमल फूलको नामले परिचित छ, कङ्‌क्रिटमाथि त फूल फुल्दैन।’ 

 अर्को पहिला रानीपोखरीको ठेक्का पाएका कम्पनीलाइ नै फेरी निर्माणका लागि ठेक्का दिएर महानगरपालिकाले गल्ति गरेको उनले बताए। व्युटिफिकेशनको नाममा ऐतिहासिक,सांस्कृतिक र प्राकृतिक सम्पदा दोहण नगर्नुपर्ने उनको माग छ।

‘रानीपोखरीमा डीप बोरिङ गरेर पानी हाल्दा अहिले लेउ जम्न थालेको छ। कमलपोखरीको प्राकृतिक पानी मासेर यस्तै गरी डीप बोरिङबाट हाल्न पाइँदैन। सचेत गर्दा पनि यसरी नै अटेरी गरेर काम भयो भने कानुनी बाटो रोज्छौँ,’ उनले चेतावनी दिए। 

अर्का सम्पदा अभियन्ता सञ्जय अधिकारीले पनि कङ्‌क्रिटको संरचना निर्माण तुरुन्त बन्द गर्नुपर्ने माग राखे। उनले भने, ‘पुनःनिर्माण गर्नुपहिले कमलपोखरीको महत्व बुझ्नुपर्छ, यो सीमसार क्षेत्र पनि हो, सरकारले बनाएको सीमसार नीतिको परिभाषाभित्र यो पोखरी पनि पर्छ, जथाभावी निर्माण सामग्री प्रयोग गरी पोखरी सुकाउन पाइँदैन, तत्काल यस्तो काम रोकियोस्।’ 

पोखरीको इतिहास

कमलपोखरी कति वर्ष पुरानो हो भन्ने एकीन इतिहास अहिलेसम्म भेटिएको छैन। सम्पदा अभियन्ता आलोकसिद्धि भन्छन्‌, ‘कति वर्ष पुरानो पोखरी हो भन्ने अहिलेसम्म तथ्यगत प्रमाण भेटिएको छैन, हामीले यसको खोजीकार्य पनि गरिरहेका छौँ।’

पोखरीका लागि आवश्यक पानीको स्रोत त्यहीँ भएकाले यसको प्राकृतिक महत्व रहेको उनी बताउँछन्‌। ‘पोखरी अवलोकन गर्दा अहिलेसम्म पानी सुकेको पाएनौँ, पानी यहीँको स्रोतबाट निस्किन्छ, यस्ता पोखरी मासिनु हुन्न।’

नापी विभागका पूर्वप्रमुख राजेन्द्र मरहठ्ठाले बाल्यकालबाट नै पोखरीमा कमलको फूल फुलेको देखेको स्मरण गरे। उनले भने, ‘मैले बाल्यकालमा पोखरीमा कमलको फूल फुलेको देखेको थिएँ, पोखरी प्राकृतिक नै हो, २०३२ सालमा म आफैँले पोखरी नापेको हुँ, अहिले भइरहेको निर्माण प्रकृया रोकिएन भने अबको विकासले पोखरीको ऐतिहासिकता मासिने पक्का छ।’

महानगरको जिकिर : कङ्‌क्रिट प्रयोग गरिएको छैन

काठमाडौं महानगरपालिका अन्तर्गत शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले कमलपोखरी पुनःनिर्माणमा कङ्‌क्रिट प्रयोग नगरिएको दाबी गरे। ‘पोखरीमा कहाँ कङ्‌क्रिटको प्रयोग गरिएको छैन, ढुंगा छापेका मात्रै हौँ।’

'सिमेन्टको प्रयोग गरिएको छ नि!' भन्ने प्रश्नमा उनले थपे, ‘ढुंगा हालेपछि सिमेन्ट त प्रयोग गर्नु परिहाल्छ नि! हामीले पोखरीलाई केही गर्दैनौँ, वरिपरि मात्रै ढुंगा छाप्छौँ।’

उनको भनाईलाई पत्याउने हो भने पोखरीभित्र केही गरिने छैन, जस्ताको तस्तै रहने छ। तर, अहिले पोखरीभित्र नै ढुंगाको वाल बनाइएको छ। कमलको फूल पानीमा फूल्ने भएकाले हिलो नचाहिने उनको भनाई छ। 

महानगरपालिका वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ पनि पोखरीको सौन्दर्य परिवर्तन गर्न कङ्‌क्रिट प्रयोग हुँदा ऐतिहासिकता नमासिने दावी गर्छन्‌।

‘पहिलाको पोखरीभन्दा अब फरक पोखरी बनाउनु परेन?,’उनले भने, ‘यो समयमा त अब पोखरीको सौन्दर्य परिवर्तन गर्नुपर्‍यो नी। त्यसैले कङ्‌क्रिट प्रयोग गरिएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.