|

लाहुरे, चिनो,कुसुमे रुमाल, दक्षिणा, बलिदान, दर्पणछाँयाजस्ता सुपरहिट फिल्मको निर्देशन गरिसकेका तुलसी घिमिरे शुक्रबारबाट दर्पणछाँया २ लिएर फेरि दर्शकमाझ आएका छन्। नेपाली फिल्म क्षेत्रका सर्वाधिक सफल निर्देशक घिमिरेको नयाँ फिल्मको कथा संगीतको दुनियाँमा आफुलाई स्थापित गर्न चाहने युवाको संघर्ष, त्याग र समर्पणमा आधारित छ। यस फिल्मको कथा तथा संवाद घिमिरे आफैंले लेखेका छन्। यस फिल्म निर्माणाधिन अवस्थामै रहँदा पुसको पहिलो साता घिमिरेले थाहाखबरसँग फिल्मका विषयमा आफ्ना अनुभव साटेका थिए।

काठमाडौं : पुराना गीतहरु नयाँ पुस्ताका गायक-गायिकाले आफ्नै जस्तो गरेर गाउने गरेका छन्। पुराना सिर्जनाहरुलाई रिमिक्स गरेर आधुनिक रुप दिने युवापुस्ताका कतिपय गायक गायिका स्वयंम् वास्तविक लेखक,संगीतकार वा गायकका विषयमा अनविज्ञ हुनसक्छन्।

यसरी पुराना गीतहरुका भाव, लय नै फरक ढंगबाट प्रस्तुत गर्दा गीतको मौलिकता हराएर जाने खतरा रहन्छ। यही विषयलाई 'दर्पणछायाँ २' मार्फत तुलसी घिमिरेले उठाएका छन्।दर्पणछाया २' तयार गर्ने क्रममा घिमिरे कैयौ रात भोकै सुतेका छन्। कैयौ रात जाग्राम बसेका छन्।

'स्ट्यान्डर्डाइजेशन मेन्टेन गर्नु र राख्नु सबैभन्दा ठूलो कुरा हो', दीपाश्री निरौलाको 'छक्का पन्जा' फिल्मले बजार पिटिरहेको पुस पहिलो हप्ता रातदिन खट्‍नुपर्ने कारण सुनाउँदै उनले भने,'दीपाश्रीको पहिलो फिल्म हो, उसले १० ओटा भूल छोडेपनि केही फरक पर्दैन। उसलाई सबैले माफ गर्छन्। यादव खरेलले भूल गरोस् त! अनि तुलसी घिमिरेलाई भूल छोड्ने छुट छैन।'

झन्डै १७ वर्ष अघि तहल्का पिटेको तुलसी घिमिरेको फिल्म 'दर्पणछाँया' र अहिलेको फिल्मको कथावस्तु निकै फरक छ। उनले पहिलो फिल्ममा माया-प्रेममा युवा पुस्ताले गर्ने समर्पणको कथा भनेका थिए। अहिलेको फिल्ममा संगीत क्षेत्रमा स्थापित हुन चाहने युवाले भोग्‍नुपर्ने चुनौती र माया-प्रेमका कथा दुबैलाई जोडेका छन्।

फिल्मको 'थिम' बन्यो विद्यार्थीले गाएको गीत

केही वर्ष पहिले तुलसी घिमिरे काठमाडौंको एक स्कुलको वार्षिक उत्सवमा गएका थिए। त्यहाँ एक विद्यार्थीले मिठो स्वरमा 'असारै मैनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने…' गीत गाएर सबैलाई मनोरञ्जन दिए। घिमिरेले ती विद्यार्थीलाई सोधे, 'यो गीत कसले लेखेको हो? यो गीतका संगीतकार को हुन् थाहा छ?' ती विद्यार्थीले थाहा नभएको बताए। उनले ती विद्यार्थीलाई अर्को प्रश्न गरे,' यो गीत कसले गाएका हुन्? यसको जवाफ ती विद्यार्थीले एक्लै दिनुपरेन। उपस्थित धेरै विद्यार्थीले एकै स्वरमा भने,'प्रशान्त तामाङ।'

प्रशान्त तामाङले इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दा यही गीत गाएका थिए। जसका कारण धेरै युवापुस्तालाई यो गीतका वास्तविक गायक नै प्रशान्त तामाङ हुन् भन्‍ने लागेको पनि हुनसक्छ। 'काठमाडौंको कलेजको कार्यक्रम पछि प्रशान्त तामाङसँग भेट भयो', घिमिरेले भने, 'मैले प्रशान्तलाई असारे मैनामा कसले लेखेको हो? भनेर सोधे।'प्रशान्तले थाहा नभएको जवाफ दिए,' घिमिरेले भने।

यस घटनापछि घिमिरेलाई खल्लो लाग्यो। उनले प्रशान्तलाई सुझाव दिए,'यही गीतबाट फेमस भएका छौ।  तिमीलाई त थाहा हुनुपर्छ। शब्द संगीत तुलसी गजमेर स्वर छुजन डोक्पा। लेखेर राख र अबदेखि यो गीत गाउदा यी २ जनाको नाम आदरसाथ लिनु।' 

प्रशान्तसँगको दोस्रो भेटमा तुलसी निकै खुसी भए। यसपटक प्रशान्तले अंगालो हालेर तुलसीलाई भने,'तपाईले वास्तविक सर्जकको नाम लिन दिनुभएको सुझावले मलाई ठुलो सहयोग गर्‍यो। सबै कुरा बताउँदा खेरि कति श्रोता त रोए। म त कहाँ पुगे कहाँ दाइ।'

स्कुले विद्यार्थीसँगको भेट 'दर्पणछायाँ २' बनाउने अभियानको पहिलो पाइला थियो। प्रशान्तसँगको दोस्रो भेट पाइला अघि बढाउन सहायकसिद्ध भयो।

पढ्नुस्: तुलसी घिमीरेले ब्रेक दिएका यी नायिका जसलाई उनी सम्झिरहन्छन्

के छ 'दर्पणछाया २' मा?

'दर्पणछाया २' ले नेपाली बाजाहरुलाई नयाँ रुपमा प्रयोग गर्नुपर्ने सन्देश दिन खोजेको छ। 'हाम्रो बाजाहरुलाई ग्ल्यामराइज गर्ने हो', निर्देशक घिमिरेले भने, 'यसका लागि युवा पुस्ताले बजायो भने त ग्ल्यामराइज हुन्छ नि। नेवार चेलीहरु धिमे, खी हरु बजाउँछन् नि कस्तो राम्रो लाग्छ नि है, तिनीहरुलाई १० बार स्यालुट छ।' उनले नयाँ पुस्ताले यसरी आफ्नै पुर्खाले बजाउदै आएका बाजाहरुलाई संरक्षण गर्नुपर्ने सन्देश फिल्ममार्फत दिएको बताए।

बाजालाई कुनै जात, धर्म वा वर्ग विशेषले मात्रै बजाउनुपर्छ भन्‍ने नेपाली मान्यताको विपक्षमा छन् घिमिरे। उनी भन्छन्, 'त्यो दमाइले बजाउने बाजा भन्यो। त्यो गाइनेले बजाउने बाजा भन्यो त कसरी हुन्छ? यो फिल्ममार्फत हाम्रा बाजालाई आउने पुस्तामा हस्तान्तरण गर्नुपर्छ र नयाँ पुस्तालाई सिकाउनुपर्छ भनेर 'दर्पणछाँया २' फिल्म बनाइएको हो।'

फिल्ममा संगीतमा स्थापित हुन चाहने युवापुस्ताले गर्नुपरेको त्याग र संघर्ष देखाइएको छ। संगीतप्रतिको युवापुस्ताको समर्पण प्रस्तुत गरिएको छ। माया-प्रेम,मित्रता र विछोडको वियोगान्त कथा मर्मस्पर्शी छ। 'नयाँपुस्ताका फिल्म निर्माताले भन्छन्, दाइ यो त फिल्म मात्रै होइन अर्कै चिज बन्यो,' फिल्मकर्मीले भनेका कुरा तिलचामले दारी मुसार्दै सुनाए घिमिरेले।

आफ्नो प्रतिस्पर्धा आफैंसँग 

'दर्पणछाँया-२' घिमिरेको २२ औं फिल्म हो। ४० वर्षभन्दा लामो नेपाली फिल्मी क्षेत्रको यात्राका क्रममा आफ्नो प्रतिस्पर्धा सधैं आफैंसँग भैरहेको घिमिरेको अनुभव छ। उनले यसअघि बनाएका 'देश', 'प्रेमपीण्ड', 'सीमारेखा', 'बलिदान', 'कुसुमे रुमाल', 'चिनो' लगायत फिल्महरुले कमाएको प्रतिष्ठा यस फिल्मले कमाउँछ कि कमाउँदैन्? यही कुराको प्रतिक्षा घिमिरेलाई छ।

मेहिनेत, लगाव र विषयवस्तुका हिसाबले  'यो फिल्म दर्पणछाँया भन्दा एक स्टेप माथि रहेको'  घिमिरेको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.