|

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएकी छन्। मन्त्रालयअन्तर्गत संस्थान, बोर्ड, समिति तथा परियोजनाको गतिविधिबारे जानकारी लिने क्रममा मन्त्री अर्यालले यस्तो बताएकी हुन्। 

अनेक कारण देखाएर कसैले पनि जिम्मेवारीमुक्त हुन नसक्ने उनले बताइन्। किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर बढ्न कर्मचारीलाई निर्देशनसमेत दिएकी छन्। 

'अबको सिजनका लागि किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेखि नै योजना बनाएर लाग्नुपर्छ। अहिले नै काम नगरेमा भोलि समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरु जति प्रगति देखिए पनि त्यसले गर्दा असर पर्छ,' उनले भनिन्। 

‘आज गयो भोलि गयो समय गइरहन्छ। ठ्याक्कै सिजन आइसकेपछि रुवाबासी सुरु हुन्छ’, मन्त्री अर्यालले भनिन्, ‘किसानलाई मल दिन सकिएन भने, तपाईं हामीले जति दु:ख गरे पनि, जति प्रगति गरे पनि देखिँदैन। त्यसकारण समयमा मल किसानलाई पुर्‍याउने सन्दर्भमा गम्भीर भएर काम गर्नुस्।’

विगतका कार्यबाट शिक्षा लिँदै भोलिका दिनमा धोका नपाउने गरी कार्ययोजना बनाएर बढ्न उनले निर्देशन दिइन्। ‘दीर्घकालीन रुपमा समस्या समाधान हुनेगरी बढौँ। दीर्घकालीन समाधानको खाका के हो?’, उनले भनिन्, ‘तपाईंहरु भुक्तभोगीहरुले अलिकति मेहनतपूर्वक कार्ययोजना बनाउनुस्। योजना बनाएर अहिलेदेखि नै बढौँ।’ 

मलको आपूर्ति र वितरणको समस्याको समाधान दीर्घकालीन हिसाबले सोच्नुपर्ने उनको भनाइ थियो। सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्नेगरी आफू बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाए पनि मल उपलब्ध नभएर भण्डार खाली हुन सक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताइन्। 

‘हाम्रो भण्डार खाली हुने कुरा राम्रो होइन। हामीले संरचना खोजेको होइन मल खोजेको हो। त्यसैले मल ल्याउने कुरामा प्रश्न पनि नउठ्ने, विवादित नहुने गरी ल्याउनु पर्‍यो’, उनले भनिन्।

मंगलबार नेपाल पशु चिकित्सा परिषद्, कृषि सामग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान तथा कपास विकास समिति, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विस्तार आयोजना, लाइस्टक सेक्टर इनोभेसन आयोजना, खाद्य तथा पोषण व्यवस्थापन आयोजना रानीजमरा कुलेरिया सिँचाइ आयोजना र समुदायमा आधारित सिंचाइ आयोजना (सिएमआएसपी) ले आ–आफ्ना गतिविधि प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.