|

दमक : पछिल्लो समय आधुनिक प्रविधिबाट कृषि तथा पशु पालन व्यवसाय गर्ने युवाको संख्या बढ्दो छ। तोपगाछी-५ का ४३ वर्षीय सन्दिपकुमार राई यस्तै युवाहरुमध्ये एक हुन्। उनले सञ्चालन गरेको ‘कुलुङ बंगुर फार्म हाउस’ यतिबेला पूर्वकै चर्चित बंगुर फार्ममध्ये एक हो।

दलालले ठगेपछि विदेश जाने सपना चकनाचुर

२०६१ सालमा राई पैसा कमाउन दक्षिण कोरिया जाने तयारीमा थिए। उनले विदेश जाने आशमा ऋण लिएर ३ लाख रुपैयाँ दलाललाई बुझाए। विदेश गएर पैसा फिर्ता गर्ने आशमा साहुसँग सैकडा ३ का दरले ब्याज काडेर ऋण लिएका थिए। तर पैसा बुझाएपछि दलाल फरार भए।

ऋण कसरी तिर्ने भन्‍ने चिन्ताले सताउन थाल्यो। उनले ५ सय रुपैयाँ तिरेर त्यही वर्ष एउटा बंगुर किनेर ल्याए। यस पेशामा लाग्दै गएपछि 'कुलुङ बंगुर फार्म हाउस ' उद्योग दर्ता गरे। उनले यही पेशाबाट वार्षिक २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। उनको बंगुर फार्ममा ५ सयभन्दा धेरै बंगुर छन्। यस उद्योगमा ५ सयबाट सुरु भएको उनको लगानी ४ करोडभन्दा धेरै पुगिसकेको छ।

उनको फार्म बंगुर सम्बन्धी अध्ययन, अनुसन्धानका साथै प्राविधिक तालिम लिनेहरुका लागि अध्ययन केन्द्र बनेको छ। आफ्नो नियमित मेहिनत नै सफलताको सुत्र रहेको उनी बताउँछन्।

फार्ममा बंगुरको पाठा किन्‍ने र कृतिम गर्भधारण गराउनेहरुको बाक्लै भिड लाग्ने गरेको उनी बताउँछन् । अमेरिकाको स्वाइन जेनेटिक इन्टरनेशनल (एसजीआई) कम्पनीबाट ल्याइएको वीर्यबाट बंगुरमा कृतिम गर्भधारण गराउँदै आएको उनले जानकारी दिए।

उनले वीर्य उत्पादनका लागि एसजीआइबाट पोखरामा तालिम लिएका थिए। उनले त्यसपछि आफै तालिम सञ्चालन गरेर २३ जना प्रविधिक उत्पादन गरि सकेका छन्। अहिले उक्त वीर्यका लागि झापा, मोरङसहित इलाम, पाँचथर र ताप्लेजुंगका गाउँ- गाउँबाट माग आउने गरेको उनले बताए।

आफ्नो मुख्य आम्दानीको श्रोत पाठा र मासु रहेको उनी बताउँछन्। ' म यहाँबाट मासु उत्पादन गर्छु, पाठा बेच्छु, र कृतिम गर्भधारणका लागि वीर्य उत्पादन गर्छु यो नै मेरो आम्दानीको श्रोत हो,' उनले भने। उनी यही व्यवसायबाट विभिन्‍न समयमा पुरस्कृत भएका छन्।

उनले जिल्ला र  पूर्वाञ्चल क्षेत्र स्तरीय उत्कृष्ट राष्ट्रपति कृषि पुरस्कार समेत पाएका छन्। यस्तै उनले नेपाल भेटनरी एसोसिएसनबाट पनि असल कृषक पुरस्कार प्राप्त गरेका छन्। उनले अहिले २ बिगाह क्षेत्रफलमा बंगुर फार्म सञ्चालन गरेका छन्।

उनले फार्मलाई अझै व्यवस्थित गर्ने यो जना बनाएका छन्। बंगुर वधस्थल समेत सञ्चालनमा ल्याउने जमर्को गरेको उनले  बताए। वधस्थल निर्माणका लागि नेपाल सरकारले २५ लाखको उपकरणहरु अनुदानमा दिएको उनले बताए । उनको फर्ममा ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.