|

सल्यान : सल्यानबाट चालु आर्थिक वर्षको चार महिनाको बीचमा २२ करोड बढीको कृषिजन्य बस्तु निकासी भएको छ। चालु आर्थिक वर्षको साउन देखि कात्तिक मसान्तसम्म २२ करोड १२ लाख २७ हजार रुपैयाँ बराबरको कृषिजन्य बस्तु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। 

कार्यालयका अनुसार तीन हजार तीन सय पाँच मेट्रिक्टन ताजा तरकारीबाट ९ करोड ८३ लाख ३६ हजार, ८ सय २५ मेट्रिक्टन अदुवाबाट चार करोड १२ लाख ५० हजार, दुई हजार पाँच सय ५९ मेट्रिक्टन आलुबाट ७ करोड ६७ लाख ७० हजार रुपैयाँ आम्दानी भएको छ।

यस्तै, ९२ मेट्रिक्टन कागती, अमिलो, अम्बा , आस्पतिबाट ४८ लाख ७१ हजार  गरी २२ करोड १२ लाख २७ हजार रुपैयाँ जिल्लामा भित्रिएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए। 

उनका अनुसार ताजा तरकारी जिल्ला भित्र चार सय ६० मेट्रिक्टन खपत भएको छ भने, दुई हजार ८ सय ४५ मेट्रिक्टन जिल्ला बाहिर निकासी भएको छ। पाँच मेट्रिक्टन अदुवा जिल्ला भित्र खपत हुँदा ८ सय २० मेट्रिक्टन जिल्ला बाहिर, ७ सय ३१ मेट्रिक्टन आलु जिल्ला भित्र र एक हजार ८ सय २८ मेट्रिक्टन जिल्ला बाहिर र कागती, अमिलो, अम्बा, नास्पती ४८ मेट्रिक्टन जिल्ला भित्र खपत हुँदा ४४ मेट्रिक्टन मात्र जिल्ला बाहिर निकासी भएको बस्नेतले बताए। 

गत आर्थिक वर्षको तुलनामा यो वर्ष ताजा तरकारीले राम्रो मूल्य भएको उनको भनाई छ। क्षेत्रफल घटेपनि ताजा तरकारीले राम्रो मूल्य पाएको बस्नेतले बताए। उनले भने,‘विश्वभर फैलिएको कोरोनाका कारण धेरै किसानहरुले तरकारी बिक्री हुँदैन भनेर खाद्यन्नबाली लगाएपनि भारतबाट आउने तरकारी बन्द हुँदा किसानले राम्रो मूल्य पाएको छ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.