|
मृतक र घाइतेका आफन्तले गरेको प्रदर्शन

  • दीपेन्द्र शर्मा-

जाजरकोट : जाजरकोटमा बिहीबार भएको बस दुर्घटनाको मृतकलाई तत्काल १ लाख २५ हजार रुपैयाँ दिइने भएको छ। जिल्लामा शुक्रबार भएको सर्वपक्षीय बैठकले मृतक परिवारलाई किरिया खर्चबापत २५ हजार र राहत स्वरुप तत्काल १ लाख रुपैयाँ बस व्यवसायी समितिले दिने निर्णय गरेको हो।

त्यस्तै बसका यात्रुले विमा वापत पाउने ५ लाख रुपैयाँ लिन तत्काल प्रक्रिया अघि बढाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जानकारी दिए। बैठकले घाइतेहरुलाई अवस्था हेरी १० हजारदेखि १ लाख रुपैयाँसम्म उपचार खर्च दिने निर्णय पनि गरेको छ। मृतक र घाइतेको खर्च भेरीगंगा यातायात समितिले बेहोर्ने सहमति भएको छ।

जाजरकोट सदरमुकाम खलंगाबाट साल्म गाविसको खाराको लागि छुटेको ना ३ ख २२७९ नम्बरको बस छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत बोहरा गाउँ नजिकै दुघर्टनामा पर्दा २६ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए। बसपार्कबाट करीब ४ किलोमिटर दुरीमा पर्ने भेरीमालिका नगरपालिका ४ बोहरागाँउ मोडमा २ सय मीटर तल पासागाड खोलामा खसेको हो।

घाइते र मृतकका आफन्तले राहत र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार जाजरकोट सदरमुकाम खलंगामा दिनभरी प्रदर्शन गरेका थिए। उनीहरुले घटनाको सत्य तथ्य छानबिन गर्न पनि माग गरेका थिए।

शुक्रबार जिल्ला प्रशानस कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पीडितको माग अनुसार राहत र क्षतिपूर्ति दिने निर्णय गरेपछि मृतक २६ जनाकै आफन्तले शव बुझेका छन्। बैठकले बस दुर्घटनाको छानबिन गर्न स्थानीय नागरिक अगुवा राजेन्द्र विक्रम शाहको संयोजकत्वमा दुर्घटना जाँचबुझ समिति गठन गरेको छ। जसमा जिल्ला प्रशासन, प्रहरी, पीडितका प्रतिनिधि र एक जना विज्ञ रहनेछन्। बैठकले दुर्घटनाबारे छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.