पूर्वप्रधानन्यायाशीहरूले बोल्नुको कुनै अर्थ नभएको टिप्पणी

|

काभ्रे : पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटाले सरकारलाई असहयोग गर्दै सत्ता छाडेर सडकमा जाने प्रचण्ड–माधव समूहलाई निर्वाचन चिह्न ‘सुकुल’ सुहाउने बताएका छन्।

शनिबार काभ्रेको बनेपा आयोजित ओली पक्षको अगुवा कार्यकर्ता भेला तथा विस्तारित जिल्ला कमिटी बैठकमा उनले भने, 'हामी यहाँ छौँ भनेर माइतीघरको सडकमा बस्न जानेलाई निर्वाचनमा चुनाव चिह्न ‘सुकुल’ सुहाउँछ।’ सूर्य चिह्न आफूहरूको भएको र प्रचण्ड–माधव समूहले यसको दिवास्वप्न नदेख्न उनले चेतावनी दिए।  

उनले संघीयता जनताका लागि भारी भएको कारण नस्वीकारिएको पनि बताए। ‘राष्ट्र र जनताको हितमा प्रतिनिधिसभा विघटन भएको छ,’ उनले भने, ‘तानाशाही व्यवस्था नभई मुलुकलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जानुको विकल्प छैन।’

बाँस्कोटाले आगामी चुनावमा प्रचण्ड–माधवले खरानी मात्र पाउने बताए। संघको २ र प्रदेशका ४ वटा गरी काभ्रेका ६ वटै निर्वाचन क्षेत्रमा समेत आफूहरुले जित्ने उनको दाबी थियो।

‘प्रचण्ड–माधव पक्षको हरेक निर्वाचन क्षेत्रबाट ८ हजारभन्दा बढी मत आउँदैन, मैले आज बोलेको कुरा नोट गरिराख्नोस्, निर्वाचनमा उनीहरुको (प्रचण्ड–माधव पक्ष) हालत कहाँ पुग्छ? चौथो पार्टी पनि हुन मुस्किल छ।’ 

त्यस्तै, उनले काभ्रेमा नेपाली कांग्रेसले पनि चियाउनु नपर्ने बताए। कांग्रेसलाई लक्षित गर्दै उनले, ‘नेकपा फुटिहाले हाले हामीले जित्छाैं सोच्नु भएको होला, तर जित्ने अवस्था छैन, लोकतन्त्र हो कोसिस गर्दाचाहिँ हुन्छ।’

माधव नेपालले १५ वर्ष महासचिव भएर पार्टी चलाउँदा तत्कालीन जनमोर्चाको ९ सिट हाराहारीमा पुर्‍याएको तर जनता छानेर राजनेता बनाएको प्रधानमन्त्री ओलीले नेतृत्व सम्हाल्नेबित्तिकै झण्डै दुई तिहाइ सिट जिताउन सफल भएको पनि बताए।

माधव नेपालको पछि नेतृत्वको विकास नहुने दाबी पनि गरे। त्यस्तै, उनले माधव नेपालले निर्वाचनमा जान लड्न डराएर खिलराज रेग्मीको तरिकाबाट प्रधानमन्त्री हुन खोजेको आरोप पनि बास्कोटाले लगाए। 

माधव नेपाललाई कैंची आफू पनि नजित्ने र कम्युनिष्टलाई पनि जित्न नदिए कांग्रेसलाई जिताउने दाउमा उनी रहेका बास्कोटाको भनाइ थियो। उनले थपे, ‘यदि कायर नभएको भए खुमलटारमा लुकेर पार्टी फुटाउने खेल खेल्दै मुलुलकलाई अस्थिरतातिर लैजाने थिएनन्, चुनाव आउने हिम्मत गर्ने थिए।’

उनले पूर्वन्यायाधीशतर्फ लक्षित गर्दै सकिन्छ भने खुला राजनीतिमा आएर चुनाव लड्न पनि चुनौती दिए। बहालवाला न्यायाधीशले फैसला गर्ने हुँदा पूर्वन्यायाधीशहरु संसद् विघटन असंवैधानिक भयो भनेर बोल्नुको कुनै अर्थ नभएको पनि बताए।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा सार्वजानिक गरेपछि प्रचण्ड–माधवले विदेशी दलालसँग मिलेर अँध्यारो कोठामा बैठक गरी ओलीलाई सिध्याउन खोजेका पनि आरोप लगाए। 

लिम्पियाधुरा, कालापानी नेपालको हो भनेर हिम्मतका साथ बोल्ने एक मात्र राजनेता केपी ओली भएका उनको भनाइ थियो। नेता कार्यकर्तालाई पनि स्पष्ट रुपमा कुन पक्षको हो खुलेर लाग्न पनि उनले बताए। भने, ‘लालुपाते लुइक्यो भुइँतिर... कि राष्ट्रवादीतिर कि आफ्नै घर प्वाल पार्नेतिर माया लगाउनोस्,' बीचमा बसेर डुंगा तरिँदैन।’

प्रधानमन्त्री ओलीले सरकारले विकासका अनगिन्ती काम गरेको बताउँदै काभ्रे जिल्लाको पनि विकास र समृद्धिका लागि राष्ट्रिय गौरवका आयोजनाहरु सुरु भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.