|

भक्तपुर : मध्यपुर थिमी–३, गट्ठाघरमा शनिबार राति दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३–०२–०४प ७३२४ र बा. ५३ प. ९८६४ नं. को दुईवटा मोटरसाइकल एक आपसका ठक्कर खाँदा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुर थिमी–१, लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृत्यु भएको हो।

सो घटनामा रौतहट गौर नगरपालिका–८ घर भई हाल ललितपुर मंगलबजार बस्ने ४१ वर्षीय युवराज विक र उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुर थिमी–१, लोकन्थली बस्ने २४ वर्षीया मनिकला राई घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि लोकन्थलीस्थित समिट अस्पताल लगिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए। समिटबाट मनराज र मनिकलालाई थप उपचारका लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको र त्यही उपचारका क्रममा मनराजको मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए।

घाइतेमध्ये मनिकलाको केएमसी अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइते युवराज सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.