प्रचण्ड–माधव समूहका सदस्यद्वारा बैठक बहिष्कार

|

काठमाडौं : प्रतिनिधि सभा विघटनपछि विपक्षी दलका सांसदसँग आमनेसामने नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको राष्ट्रिय सभा बैठक निकै कडा प्रश्नको सामना गर्नुपर्‍यो।

राष्ट्रिय सभाको हिउँदे अधिवेशनका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन राष्ट्रिय सभामा पुगेका प्रधानमन्त्रीका लागि प्रश्न अप्रत्याशित त थिएनन्, तर उनलाई जवाफ दिन भने सोचेजस्तो सजिलो भएन।

प्रधानमन्त्रीको सम्बोधनपछि कांग्रेस सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्रीको भनाइमा आफ्नो पूर्ण असहमति रहे पनि आफैं आएर जवाफ दिएर राष्ट्रिय सभाको गरिमा बढाइदिएको भन्दै धन्यवाद दिए। तर उनले पूरै प्रश्न राख्न नपाउँदै माइक काटियो। देवले निर्धारित समयमा प्रश्न सोध्न नभ्याए पनि अन्य सांसदले भने छोटै समयमा पनि निकै कडा प्रश्न गर्न भ्याए। 

प्रधानमन्त्री ओलीको संसद विघटन कदम राणहरूले २००७ सालको संविधान तुहाएकोदेखि १७ सालमा राजा महेन्द्र र ६१ सालमा ज्ञानेन्द्रको कुसँग सांसद प्रमिला कुमारीले तुलना गरिन्। 

त्यही रोडम्यापअनुसार प्राप्त उपलब्धि नास हुने गरी अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले तरबार झुण्डाएको पनि उनको टिप्पणी थियो। त्यतिमात्र होइन आफ्नो कदमविरुद्ध सडक र सदनबाट भइरहेको प्रतिकार रोक्न राष्ट्रिय सभाको हिउँदे अधिवेशनसमेत अन्त्य गरेको भन्दै उनले बरु प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग गरिन्। 

संसद विघटन गरेर चुनाव गर्छु भन्नु 'नहर भत्काएर रोपाइँ गर्न जा' भनेजस्तै भएको सांसद प्रकाश पन्तले टिप्पणी गरे। चुच्चे नक्साको जमिन ल्याउन नसकेर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको हो? भनी उनले प्रश्नसमेत गरेका थिए। 

आफ्नो सत्ता यात्रा टुंगिँदै गर्दा संसदको घाँटी रेट्न पछाडि नपर्ने प्रधानमन्त्रीले निर्वाचन कसरी गर्छ भनी सांसद अनिता देवकोटाले व्यंग्य गरिन्। यसैगरी राष्ट्रपतिको भूमिकामासमेत प्रश्न गरेपछि कस्तो राष्ट्रपति खोजेको हो भनी सांसद देवकोटालाई उल्टै प्रधानमन्त्रीले प्रतिप्रश्न गरेका थिए। 

संविधानले राष्टपतिलाई प्रधानमन्त्रीले गरेको कुनै पनि सिफारिस सदर गर्नुपर्ने अधिकार मात्र दिएको अवगत गराउँदै प्रधानमन्त्रीले राष्ट्रपति संविधानको मर्यादापालक मात्र भएको बताए। राष्टपतिप्रति केही व्यक्तिले संकीर्ण दलीय स्वार्थका हिसाबले राष्ट्रपतिमाथि हिलो छ्याप्ने काम गर्दै आएको पनि प्रधानमन्त्रीले उल्लेख गरे।

संसद् विघटन असंवैधानिक भन्नेहरूलाई प्रधानमन्त्री ओलीले संविधान पटक–पटक पढ्नसमेत सुझाएका थिए। सांसदहरूको प्रश्न दलले बोल्न लगाएकाले आफूलाई नराम्रो नलागेको तर कस्ता भ्रम सिर्जना गरिँदै छ भन्ने प्रस्ट भएको र त्यसले आफूलाई फाइदै गर्ने प्रधानमन्त्रीको तर्क थियो।  

सांसदहरूले जतिसुकै कडा शब्दमा प्रश्न गरे पनि प्रधानमन्त्रीले भने त्यसको जवाफमा राष्ट्रिय सभाका सांसदहरूलाई चुनाव लड्नै नपर्ने भन्दै चिन्ता नलिन आग्रह गरे। बरु उनले प्रतिनीधि सभाका सांसदलाई निर्वाचनको तयारीमा जुट्न आह्वान गरे।  

केपी ओलीको लोकप्रियता 'शून्य ग्राफ'मा झरेको भन्ने टिप्पणीप्रति प्रधानमन्त्री ओलीले कसको लोकप्रियता कति भन्ने निर्वाचनबाटै थाहा हुने चुनाैती दिए। प्रधानमन्त्री ओली प्रवेश गरेपछि नेकपाकै प्रचण्ड–माधव समूहका सांसदहरूले राष्ट्रियसभा बैठक बहिष्कार गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.