|

उदयपुर : उदयपुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न अनुरोध गरिएको छ। 

आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयबाट संसद् विघटन फिर्ता लिन अनुरोध गर्दै ज्ञापन पत्रमार्फत प्रधानमन्त्री ओलीलाई संविधान पढ्न अनुरोध गरिएको हो।

नेकपा प्रचण्ड–माधव समूह उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशले ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई संसद विघटन असंवैधानिक भएकाले फिर्ता लिन आग्रह गरेका थिए।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई ज्ञापन बुझाउँदै अध्यक्ष कटुवालले प्रधानमन्त्री ओलीलाई संविधान उलंघन गरी संसद् विघटन भएकाले पुनर्स्थापना गर्न संविधान नै प्रधानमन्त्री कार्यालय पठाइदिन आग्रह गरेका छन्।

‘अहिलेको संसद् विघटन असंवैधानिक हो,’ उनले भने, ‘असंवैधानिक संसद् विघटन सच्याउन संविधानसमेत पठाएका छौँ, सम्माननीय प्रधानमन्त्रीले पढिदिनुहुन्छ भन्ने विश्वास लिएका छौँ, हामीले बुझाएको ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय पठाइदिनु अनुरोध गर्दछौँ।’ 

अध्यक्ष कटुवालले आजै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई पठाइदिन सहायक प्रमुख जिल्ला अधिकारी पोखरेललाई आग्रह पनि गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले पनि तत्कालै प्रधानमन्त्री कार्यालय पठाउने आश्वासन दिएका छन्। 

संसद विघटनविरुद्ध उदयपुरमा चरणवद्ध रुपमा आन्दोलन जारी छ। देशव्यापी रुपमा नेकपा प्रचण्ड माधव समूहले प्रधानमन्त्रीलाई संविधान पढ्नको लागि अनुरोध गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्र्तगत उदयपुरमा ज्ञापन पत्र बुझाइएको नेकपा प्रचण्ड माधव समूह उदयपुरका सचिव इश्वरमणी राउतले बताए।

‘हामी संसद पुनर्स्थापनाको पक्षमा केन्द्रबाट आएका सम्पूर्ण आन्दोलनका कार्यक्रम सम्पन्न गरिरहेका छौँ,’ उनले भने, ‘संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनेमा हामी ढुक्क छौँ।’

संसद् विघटनपछि नेकपा प्रचण्ड समूह उदयपुरले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण, आमसभालगायत कार्यक्रम गर्दै आएको छ। यो समूहको उदयपुरमा दुईतिहाइ छ।  

संसद् पुनर्स्थापना नहुन्जेल गाउँगाउँसम्म आन्दोलन सशक्त पारिने सचिव राउतले बताए। प्रत्येक स्थानीय तहमा विरोधसभा गर्ने, बैठक, भेला तथा आमसभा, जनवर्गीय संगठनको बैठक, प्रशिक्षण जारी राखिएको पनि उनले बताए।

यसअघि केही जिल्लाका नेकपाका यो समूहले पनि प्रधानमन्त्रीलाई संविधान पढ्न भन्दै ज्ञापनमार्फत पत्र पठाइसकेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.