|

पर्सा : पश्चिमा शैलीले गाँजेको नेपाली समाजमा पनि धेरैले आफ्नो जन्म दिनमा केक काट्ने र फजुल खर्च गर्ने चलन ह्वात्तै बढेको छ।

तर पर्साकी एक पत्रकारले भने आफ्नो जन्मदिनमा अन्यलेजस्तो फजुल खर्च नगरी स्व विन्दु पाण्डे स्मृति प्रतिष्ठानलाई ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिन्। यो संस्थाले ५ वर्षदेखि लगातार पर्साका महिलाको हितका लागि काम गरिरहेको छ। 

त्यो रकम पर्सेली पत्रकार महिलाकै हितमा खर्च गर्ने गरी उनले प्रदान गरेकी हुन्। कोरोना कहरको समयमा विपतमा परेकी एक पत्रकार महिलालाई प्रतिष्ठानले सहयोग गरेको स्मरण गर्दै उनले त्यस्तै विपतमा परेका पत्रकार महिलाका लागि मात्र खर्च गर्ने गरी प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीलाई एक कार्यक्रमबीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन्।

व्यावसायिक पत्रकारितामा लागेका महिलाको हौसला वृद्धिमा लागिपरेको प्रतिष्ठानलाई रकम उपलब्ध गराएर पत्रकार महिला खड्काले सह्रानीय कार्य गरेको नेपाल पत्रकार महासंघका प्रदेश २ का कार्यवाहक अध्यक्ष केसी लामिछानेले बताए।

श्रमजीवी पत्रकारहरुले अनेकौ चुनौती सामना गर्दै काम गरिरहेको अवस्था छ। अझ त्यसमा पनि पत्रकार महिलाको अवस्था कम छैन। यस्तो अवस्थामा काम गर्दा आइपर्ने विपतमा खर्च गर्ने कोष खडा गर्न मद्दत पुग्ने गरी प्रतिष्ठानलाई साथ दिनु उदाहरणीय कार्य भएको उनको भनाइ छ।

समाजका अन्य व्यक्तिले पनि यसरी पत्रकार र पत्रकार महिलाहरुको हितका लागि मात्र काम गरिरहेको संस्थामा जन्मोत्सव मनाउने फजुल खर्च कटाएर सहयोग गरे त्यस रकमले महिला पत्रकारको थप वृद्धि विकासमा समेत टेवा पुग्ने प्रचलनको सुरुवात हुने कार्यवाहक अध्यक्ष केसीको तर्क छ।

कार्यक्रममा माई टिभीका सम्पादक सरोज खड्काले पत्रकार महिला कविताले राम्रो कदमको सुरुवात गरेको बताए। हरेक वर्ष आफ्नो तर्फबाट प्रतिष्ठालाई केही न केही रकम हस्तान्तरण गरिरहने पत्रकार कविताले पनि सो क्रममा बताएकी छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, पहिला पत्रकार सञ्जाल पर्साकी अध्यक्ष लक्ष्मी खरेल, महासंघकी सहसचिव निलिमा पौडेल, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाई लगायतले खड्काको कामको उच्च प्रशंसा गरे। 

चेक बुझ्दै प्रतिष्ठानका अध्यक्ष भण्डारीले संस्थाका पदाधिकारी तथा सदस्यहरुबाट खर्चको जोहो गरी सुरुवात गरिएको संस्थामा प्राप्त हुने यस्ता रकमले अझ पर्सेली पत्रकार महिलाको हित र सीप विकासमा पनि टेवा पुग्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.