|

पर्सा : प्रधानमन्त्री केपी ओली सरकारको विदेश नीति पेन्डुलम रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोधमा जसपाले सोमबार पर्सामा गरेको कार्यक्रममा उनले बाहिरबाट आएका कूटनीतिक व्यक्ति ओलीसँग चिया खान मात्र आएका हुन् भनी प्रश्नसमेत गरे। कट्टर राष्ट्रवादी ठान्ने प्रधानमन्त्री ओली राष्ट्रघाती भएको उनको भनाइ थियो। 

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावाससँगै जोडिएको खुला ठाउँमा जसपाले गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले एउटालाई च्याप्ने र अर्कोलाई चिढ्याउने ओलीको नीतिले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित भएको बताए।  

'संसद विघटन गर्ने ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम सबैले मिलेर धक्का दिए मात्र सच्चिन्छ, ओली कुन खेतका मुली हुन्? उनले थपे। 

'पार्टीको झगडामा जनताको अधिकार खोस्न मिल्दैन' 

'पार्टीभित्र दुईचार जनाको झगडा भयो भन्दैमा जनताको अधिकार नै खोस्न मिल्दैन,' उनले भने, 'पार्टी पनि व्यवस्थित तरिकाले चलाउन नसकेको र सरकार पनि ओलीले चलाउन सकेनन्। सरकारको नेतृत्वमा ओली रहिरहेसम्म लोकतन्त्र खतरामा परिरहने भन्दै उनले सिंहदरबारबाट ओलीलाई पाखा लगाएपछि मात्र लोकतन्त्र सुरक्षित हुने बताए।

प्रम ओलीको मुखौटा मात्र कम्युनिष्ट 

हिन्दीमा भाषण गरेका अध्यक्ष यादवले ओलीको मुखौटा कम्युनिष्टको भए पनि असली रुप भने तानाशाह र लोकतन्त्रविरोधी भएको जिकिर गरे। ओलीको कदम विरुद्धमा दुई दिन अगाडि चार–चार जना पूर्वप्रधानन्यायाधीशले निकालेको संयुक्त विज्ञप्तिपछि उनी आत्तिएर बोल्न थालेको भन्दै नेता यादवले ओलीबाहेक अरु कसैले यो देशको संविधान पढ्न जानेको छैन? उनी एक जना मात्र हो यो देशको संविधान पढ्न जान्ने? भनी प्रतिप्रश्न गरे।

‘संविधान बनाउँदा आफैं हर्ताकर्ता रहेका ओलीले त्यही समयमा एक लाइन थपेर ओलीले चाहेको जस्तो मात्र संविधान हुन्छ? भनी एक लाइन थपिदिएको भए भैहाल्थ्यो नि भनी अध्यक्ष यादवले तर्क गरे।

साँढे र स्यालको उदाहरण दिँदै अध्यक्ष यादवले कांग्रेसलाई पनि ओलीको पछाडि हिँडेर केही प्राप्त नहुने सुझाव दिए। भोक लागो भन्दैमा अलकत्रा खाए पच्छ? सत्ता चाहियो भन्दैमा निरंकुशता चल्छ? भन्दै उनले ओलीले गराउने निर्वाचन पूर्वराजा ज्ञानेन्द्रले गराएजस्तो निर्वाचन हुने बताए। 

ओली सरकारको पछिल्लो कदमविरुद्ध सोमबार वीरगन्जमा भएको विरोध कार्यक्रममा जसपाका नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ओली सरकारको कदम प्रतिगमनकारी भएको बताए।

विरोध कार्यक्रममा जसपाका नेताहरु लक्ष्मणलाल कर्ण, प्रदीप यादव, रमेश पटेललगायतले सम्बोधन गर्दै ओली सरकारको गलत कदम सच्चिनुपर्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.