|

भद्रपुर :  संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई लिएर सत्तारुढ नेकपा दुई गुटमा विभक्त छ। दुवै गुटले देशभर कार्यकर्ता उतारेर आफ्नो पक्षमा माहाैल बनाइरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि दुवै खेमाको गुट भेला दैनिकजसो भइरहेको छ। यस्तैमा झापा निर्वाचन क्षेत्र नम्बर १ का नेकपाका केही कार्यकर्ता तटस्थ बसेका छन्। उनीहरूले दुवै खेमामा नलाग्ने घोषणा गर्दै पार्टी एकता अभियानमा जुट्ने भन्दै विज्ञप्ति नै सार्वजनिक गरेका छन्। 

प्रदेश १ का सांसदद्व श्रीप्रसाद मैनाली  र गोपालचन्द्र बुढाथोकीसहित नेकपामा क्षेत्रीय समन्वय कमिटीका सचिव प्रकाश भण्डारी, प्रदेश क्षेत्रीय समन्वय कमिटी संयोजक बन्धनकुमार मण्डा, प्रदेश क्षेत्रीय समन्वय कमिटी सचिव पुष्प गुरागाई (किरण), मेचीनगर नगर कमिटीका सहइञ्जार्च रामकुमार राई (विमल) र मेचीनगर नगर कमिटी अध्यक्ष माधव अर्याल पार्टी एकताको पक्षमा रहेका बताएका छन्। प्रधानमन्त्रीको ओलीको गृह जिल्लामा पहिलो पटक उनीहरुले एकता अभियानमा लाग्ने घोषणा गरेका हुन्। 

प्रदेश सांसद मैनाली झापा निर्वाचन क्षेत्र १ क र सांसद बुढाथोकी ख बाट निर्वाचित भएका हुन्। उनीहरूको स्थानीय ठेगाना मेचीनगर नगरपालिका पर्छ। सांसदद्वय मैनाली, बुढाथोकी र प्रदेश क्षेत्रीय, मण्डा नेपाल पक्षका कार्यकर्ता हुन्, भने प्रदेश क्षेत्रीय कमिटी सचिव गुरागाईं, क्षेत्रीय समन्वय कमिटीका सचिव भण्डारी, मेचीनगरका सहइञ्चार्ज राई र अध्यक्ष अर्याल प्रचण्ड पक्षका हुन्। प्रचण्ड–माधव पक्षका भए पनि उनीहरू नेकपा नेता वामदेव गौतम पक्षको अभियानमा खेलकेा छन्। 

नेता गौतमले शनिबार मात्रै नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए। त्यस अभियानको उनी संयोजक हुन्। जब पार्टीभित्र विवाद सुरु भयो, त्यस बेला प्रधानमन्त्री ओलीले प्रदेश सांसद मैनालीलाई नेकपा केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए। तर, सांसद मैनालीले ओलीको पद अस्वीकार गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

त्यति मात्र नभई प्रचण्ड–माधव पक्षका सांसदहरूले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा पनि सांसदद्वय मैनाली र बुढाथोकीले हस्ताक्षर गरेका थिएनन्। उनीहरू त्यस बेला पनि तटस्थ बसेका थिए। 

यस्तो अवस्थामा आफ्नो पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि गतिविधिमा सहभागी हुने भनेको दशकौँदेखि आमूल परिवर्तनको सपना सजाएर बसेका आम नेपाली जनतालाई धोका लिनुबाहेक अरू केही नभएकोले पार्टी विभाजनको पक्षमा नलागी एकताका लागि दबाब सिर्जना गर्न सबै यस अभियानमा जुट्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यस्तो छ सांसद्वय मैनाली र बुढाथोकीको राजनीतिक यात्रा 

सांसद श्रीप्रसाद मैनालीको राजनीतिक यात्रा २०२८ सालको झापा आन्दोलनबाट भएको हो। उनका गुरु सूर्य कन्दङ्वा, नन्दकुमार प्रसाईंलगायत कम्युनिस्ट नेताहरू थिए।

उनी कक्षा ९ मा पढ्दादेखि कम्युनिस्ट आन्दोलनमा सहभागी भएका थिए। त्यसपछि उनी कम्युनिस्टलाई आत्मसाथ गर्दै नगर, क्षेत्र, जिल्ला तहसम्म पुगेर तत्कालीन एमाले पार्टीका निम्ति निरन्तर काम गर्दै प्रदेश सांसदमा निर्वाचित भएका थिए।

त्यस्तै प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको राजनीति यात्रा २०३५ साल चैतबाट सुरु भएको हो। धुलाबारी माविमा अध्ययन गर्दैगर्दा अनेरास्वावियूको संगठनमा लागेका बुढाथोकीले ०३६ सालमा एसएलसी पास गरेपछि मेची क्याम्पस भद्रपुरमा अध्ययन सुरु गरे।

त्यतिखेर विद्यार्थी आन्दोलन तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध उनी उत्रिएका थिए। तिनै आन्दोलनमार्फत मेची क्याम्पस अनेरास्ववियूको प्रारम्भिक कमिटीमा प्रवेश गरे। त्यसपछि निरन्तर राजनीतिमा सक्रिय भए। अध्ययनपछि उनी यातायात क्षेत्रमा सक्रिय हुँदै काम मजदुरको हितका लागि संगठन निर्माण गर्दै पार्टीसँगै बढेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.