|

काठमाडौं : सरकारले मेलम्चीको सुरूङ फेरि परीक्षण गर्ने भएको छ। विदेशी प्राविधिक टोलीले सुरूङमा रहेका त्रुटिबारे अध्ययन गरेको र प्रतिवेदन आएपछि फेरि परीक्षण गरिने खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बताएका छन्।

गत असार महिनामा परीक्षण गर्ने क्रममा मेलम्चीको सुरूङ भत्किएर मानवीय हताहती समेत भएको थियो। परीक्षणकै क्रममा सुरूङ भत्केपछि निर्माण गुणस्तर कायम नभएको भन्दै सरकारको व्यापक आलोचना भएको थियो।

‘विदेशी प्राविधिक टोली आएर त्रुटिको परीक्षण गरेर गइसकेका छन,’ उनले भने, ‘टोलीले अन्तिम प्रतिवेदन माघको मध्यसम्ममा प्रतिवेदन बुझाउने भनेका छन्प्र, तिवेदन बुझाएपछि पुन: सुरुङमा पानी प्रवाह गरी परीक्षण गछौँ।’ उनका अनुसार यो परीक्षण भएपछि सुन्दरीजलमा पानी झारिने छ। उनले अहिलेसम्म आयोजनाको ९० प्रतिशत काम सकिएको जानकारी दिए। 

सुन्दरीजलमा पानी झारेलगत्तै उपत्यकामा वितरण गर्नेगरी मेलम्ची खानेपानी उपआयोजना–२ ले तयारी थालेको छ। उपआयोजना–२ आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले सुन्दरीजलमा पानी झारे लगत्तै उपत्यकाका घर-घरमा पानी वितरण गर्ने गरी काम भैरहेको जानकारी दिए। 

उनका अनुसार अहिले पानी प्रवाह गर्ने मुख्य लाइनको काम भइरहेको छ। १० वटा ट्यांकी बनाइने भनिएकोमा ९ वटाको काम सकिइसकेको छ भने एउटा निर्माण भइरहेको  छ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार  पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याइने छ। दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ।

मेलम्ची आयोजनाको अवधारणा २०४५ सालअघि पञ्चायतकालमै ल्याइएपनि २०४७ सालपछि प्रारम्भिक काम शुरू भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.