|

काठमाडौं : बालबालिकालाई भाइरस चिनाउने ‘जासुस अभिषको भाइरससँगको जित’ कथा प्रकाशित भएको छ। पुस्तक बालबालिकालाई लक्षित गरेर प्रकाशन गर्दै आएको कथालयले प्रकाशित गरेको हो।

यस कथाको मुख्य पात्र अभिष हो। अभिष खेलमा व्यस्त रहेको बेला उनको बुवालाई साइरन भएको गाडीमा लगिन्छ। त्यसपछि अचानक बाटोहरु सुनसान हुन्छन्। विद्यालय बन्द हुन्छन्। खेल्न र कसैलाई भेट्नसमेत रोक लगाइन्छ। अभिषले पहिला कहिल्यै नभोगेका यी कुराहरु आजकाल किन  भइरहेका छन् भनेर उनी सुरुमा बुझ्न सक्दैनन्। खोज्दै जाँदा उनी भाइरसका कारण त्यो सब भइरहेको थाहा पाउँछन्। त्यसपछि उनले भाइरसबारे सोधखोज गरी धेरै कुरा थाहा पाउँदै जान्छन्। 

कथाको अन्त्यसम्म आइपुग्दा अभिषले धेरै मानिसलाई भाइरसबारे जानकारी दिन सफल हुन्छन्। कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको यो समयमा ‘जासुस अभिषको भाइरससँगको जित’ कथा निकै सान्दर्भिक छ।

लेखक छल्मन बाइराको यस पुस्तकमा बालर्थतोया मुखजार्गलको विशिष्ट चित्राङ्कन रहेको छ। ती चित्रहरु हेर्दै कथा पढ्दै गर्दा टेलिभिजनमा रमाइलो कार्टुन हेरिरहेको जस्तो लाग्छ। चित्रले कथाको हिरो अभिषले अब यसपछि के गर्ने होला, कसरी आफ्नो काम फत्ते गर्ने होला भन्दै पुस्तकका हरेक पाना पल्टाइरहुँ लाग्ने कौतुहलता थपेका छन्।

यस पुस्तकका चित्राङ्कनकर्ता बालर्थतोया प्रसिद्ध बाल चित्राङ्कनकर्ता हुन्। उनले हालसम्म १० वटा बालसाहित्यका पुस्तकमा चित्र बनाइसकेकी छन्। उनको ‘वियर एन्ड मस्क्युटो’ पुस्तक सन् २०१९ मा कलर्स अफ उलानबटार बालसाहित्य प्रतियोगितामा पुरस्कृत भएको थियो। 

यस पुस्तक मुल प्रकाशक नेप्को किड्सबाट मङ्गोलियामा पहिलोपटक प्रकाशित भएको हो। यस पुस्तकको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन्।

विश्व महामारी कोरोना भाइरसले सबैतिर प्रभाव पारिरहेको बेला यो बेलामा सबैभन्दा बढी सचेत हुनुपर्ने बालबालिका बारे हो। उनीहरुलाई सहज ढंगले भाइरसबारे जानकारी गराउन, यसबारे सचेत रहन अपनाउनुपर्ने उपायहरु सानै उमेरको अभिषकै माध्यमबाट भनिएकाले यो पुस्तक बालबालिकाका लागि निकै रोचक र उपयोगी हुन सक्छ। यो पुस्तक ५ देखि १० वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी लेखिएको हो। यस पुस्तकको मूल्य २२५ रुपैयाँ तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.