|

उदयपुर : केन्द्रका अधिकांश कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली समूह उदयपुरमा रक्षात्मक अवस्थामा छ। 

वैधानिक रूपले नफुटे पनि राजनीतिक गतिविधि र व्यवहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ। देशैभरि समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ।

यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो मध्येको एक उदयपुरमा सांगठनिक शक्ति सन्तुलनमा आफूलाई बलशाली तुल्याउने ध्येयमा दुवै पक्ष लागेका छन्। 

उदयपुरमा केन्द्रदेखि प्रदेश, जिल्ला र नगर÷गाउँपालिका कमिटीमा लेखाजोखा गर्दा ओली समूह अर्को खेमाभन्दा निकै कमजोर देखिएको छ। 

संसद् विघटन हुनुअघिको दस्तावेजअनुसार उदयपुरबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने ४ जनामध्ये ओली पक्षमा एक र प्रचण्ड–माधव समूहमा ३ जना छन्। 

ओली पक्षका केन्द्रीय सदस्यमा मन्जु कुमारी चौधरी मात्र छिन् भने उता अर्को खेमामा केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का सचिव सुरेशकुमार राई (हिमाल), जगनाथ खतिवडा र बलदेव चौधरी छन्।

नेकपा प्रदेश कमिटीमा उदयपुरबाट १७ जना छन्। जसमा ११ जना प्रचण्ड पक्षमा खुलेका छन्। राजकुमार राई, अम्बर बहादुर रायमाझी, मोहन खत्री, भीम अधिकारी (अनिल), राजन किराती, नारायण बुर्जा, मणि खम्बु, भेष कुमारी राउत, निरज पौडेल, काजीमान तामाङ र केपी बराज प्रचण्ड–नेपाल पक्षमा उभिएका छन्। ओली समूहमा मणि पौडेल, अम्बिका थापा, बेदप्रसाद पोखरेल, भीमकुमारी राउत, लक्ष्मी नारायण चौधरी र नवराज पोखरेल छन्। 

जिल्ला तहमा के छ अवस्था?

पुस १५ गते बसेको प्रचण्ड नेपाल समूह पक्षको जिल्ला कमिटी बैंठकमा १ सय १५ जनाको उपस्थिति थियो। एक दर्जन बढी भौगोलिक कठिनाइ र समय अभावले उपस्थित हुन नसकेको जानकारी गराएको प्रचण्ड–माधव समूहका जिल्ला सचिव ईश्वरमणि राउतले जानकारी दिए। 

त्यसको भोलिपल्ट पुस १६ गते बसेको ओली समूहको जिल्ला कमिटी बैठक बसेको थियो। जिल्ला कमिटीमा रहेका १ सय ६२ जनामध्ये २ जना प्रदेश कमिटीमा गएका, २ जनालाई कारबाही गरिएको र एक जनाको मृत्यु भएको थियो। 

नेकपा उदयपुर जिल्ला कमिटीमा हाल १ सय ५७ जना छन्। जसमा ओली पक्षमा ३३ जना छन्। ओली समूहका केही जिल्ला सदस्य प्रचण्ड नेपाल पक्षमा आउने देखिएको सचिव राउतले बताए।

उनका अनुसार प्रचण्ड नेपाल पक्षमा जिल्लाका १ सय २४ जना सदस्य खुलेका छन्।  जिल्ला सदस्यहरुमा नेपाल निकट (५७ जना), ओली निकट (३३ जना) र प्रचण्ड निकट (६७ जना) रहेका जिल्ला सचिव राउतले बताए।

गाउँ/नगरपालिकामा यस्तो छ अवस्था 

पार्टी कमिटीका प्रत्येक गाउँपालिकामा ७५ र प्रत्येक नगरपालिकामा ८१ सदस्यीय बनाइएको छ। गाउँपालिका र नगरपालिका गरी ८ अध्यक्ष र ८ सचिवमध्ये ओली पक्षमा एक सचिव र ३ अध्यक्षसहित ४ जना मात्रै छन्।

ओली पक्षका सचिवमा बेलका नगरपालिका सचिव गणेश बस्नेत, चौदण्डीगढी नगरपालिकाका अध्यक्ष राजेन्द्र प्रसाद कटुवाल, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष गोपाल खत्री र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष भलराज राई छन्। 

यस्तै बेलका नगर अध्यक्ष मनोज तामाङ, चौदण्डीगढी नगर सचिव गोविन्द श्रेष्ठ, उदयपुरगढी गाउँ सचिव भुवन केप्छाकी मगर, लिम्चुङबुङ गाउँ सचिव भनक विक प्रचण्ड– माधव समूहमा खुलेका छन्। 

यस्तै त्रियुगा नगर कमिटी अध्यक्ष प्रकाश कुमार बस्नेत, सचिव गीता खड्का, कटारी नगरपालिका अध्इक्ष मणिराज दाहाल, सचिव मोहन खड्का, ताप्ली गाउँ कमिटी अध्यक्ष ढुंगराज विक र सचिव टोपबहादुर ठकुरी पनि प्रचण्ड–नेपाल समूहमा खुलेका छन्।

गाउँपालिका र नगरपालिकाका कमिटीहरुका साथै वडा कमिटीमा प्रचण्ड–नेपाल समूह ८५ प्रतिशत बढी नेता कार्यकर्ता ओलीको असंवैधानिक कदमविरुद्ध रहेको प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष विनोद कटुवालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.