|

काठमाडौं : जलपरी गौरिका सिंह र करातेका मण्डेकाजी श्रेष्ठ १७ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

१३ औं सागमा ४ स्वर्ण पदक विजेता गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्। गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितेकी हुन्।

त्यस्तै, मण्डेकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड पाएका हुन्। मण्डेकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जितेका हुन्।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन्। २०० मिटर फ्रि–स्टायल, २००  मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्ण पदक जितेकी थिइन्।

त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन्। त्यस्तै, २०७६ साल मै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन्।

यता, मण्डेकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए। आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए। गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए।

अरुणाले जितिन् पिपल्स च्वाइस अवार्ड

भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छन्। कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन्। 

२७ वर्षीया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन्। यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए। बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हालिस गरेकी थिइन्। त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन्।

एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा कप्तान अरुणा थिइन्। उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो। 

त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो।

अरुणालाई जिताऔं भन्दै पोखरामा न्यु डायमण्डसँग एपीएफको मैत्रीपूर्ण खेल समेत खेलाइएको थियो।​

सुवासलाई वर्ष उत्कृष्ट युवा अवार्ड

गल्फका सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भए। सुवासले तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै अवार्ड जितेका जिते।

सुवासले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई वटा स्वर्ण जितेका थिए। त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका सुवासले राहुल विक र निश्चयजंग राजमाझीसँग टिम इभेन्ट्समा रजत पदक जितेका थिए।

फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन बनेका उनले सूर्य नेपाल प्रिमियर लिगमा पनि च्याम्पियन बनेका थिए।

नवीनलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड

तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका छन्। नवीनले उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते।

१३औं सागमा तेक्वान्दोबाट नेपालले सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जित्दा नवीन प्रशिक्षक थिए। तेक्वान्दोमा नेपालका सबै २९ जना खेलाडीले पदक पाएका थिए। उनी चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप नेपालले खेल्दा टिमका प्रशिक्षक थिए।

वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका नवीनले एक थान पल्सर मोटरसाइकल पाएका छन्।

आयशा र सन्तोषीलाई स्पेशल अवार्ड

तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत स्पेशल अवार्ड पाएका छन्। ​आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय जगतमा स्वर्ण पदक जितेका थिए। २०७६ सालमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोकी आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन्। त्यस्तै, उनले आठौं राष्ट्रिय खेलकुदमा भने कास्य पदक जितेकी थिइन्।

एथ्लेटिक्सकी सन्तोषीले १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। सन्तोषी १३ औं सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने एक मात्र महिला खेलाडी हुन्। १३ औं सागमा एथ्लेटिक्समा नेपालले ३ स्वर्ण जितेको थियो।

महिला भलिबललाई 'टिम अफ दी इयर' अवार्ड

महिला भलिबल टिमले टिम अफ द इयरको अवार्ड पाउन सफल भयो। एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपको उपाधि जित्दै नेपाली महिला टिमले ऐतिहासिक सफलता पाएको थियो। नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो।

नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो।

सिजरिन र गीतालाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड'

पूर्व टेबलटेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। टेबलटेनिसमा लामो समयसम्म योगदान पुर्याएका सिजरिन र गीतालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो।

सन् अस्सीको दशकमा गीता र सिजरिनले यस्तै बाधा मात्र तोडेनन्, नेपाली खेलकुद इतिहासकै एक सर्वकालीन गौरवको उपलब्धी पनि हात पारे। सन् १९९१ को पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपालले दुई स्वर्ण पदक जितेकोमा यी दुवै महिला खेलाडीको नाममा रह्यो। श्रीलंकाको कोलम्बोमा गीता र सिजरिनले आत्मसात् गरेको त्यो उपलब्धी दक्षिण एसियाली खेलकुदमा महिलाले नेपालका लागि जितेको पहिलो स्वर्णका रूपमा रहेको छ।

अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाएका सिजरिन र गीतालाई यो अवार्डबाट सम्मान गरिएको हो।

त्यस्तै, दिगमसिंहलाई पारा एथलिट अवार्ड प्रदान गरिएको भने एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्डबाट भने अहमद खवारी इशालाई दिइएको छ। पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइज अवार्डका विजेताले पल्सर स्पोर्ट्स मोटरसाइकल पाएका छन्। त्यस्तै, हरेक विधाका विजेताले ५० हजार नगद पाएका छन्।​

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ। डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.