|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको एक दिनपछि भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सगरमाथाको बेसक्याम्प पुगेको भिडियो सार्वजनिक भयो।

प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका जी न्युजका प्रधान सम्पादक चौधरीले  कालापत्थरबाट स्थलगत रिपोर्टसहित सामग्री तयार पारेका हुन्।

चौधरीले सगरमाथा निकुञ्जमा प्रवेश भिडियो सामग्री बनाएका थिए। निकुञ्ज भित्र प्रवेश गर्न वा भिडियो सामग्री बनाउनको लागि राष्ट्रिय निकुञ्ज क्षेत्र वा वन तथा त्यस मातहतका विभागसँग अनुमति लिनुपर्ने हुन्छ। उनले तयार गरेको भिडियोमा सगरमाथाको नाम परिवर्तन गर्नुपर्नेसमेत बताएका थिए।

जी न्युजका प्रधान सम्पादकले बिना अनुमति निकुञ्ज क्षेत्रमा प्रवेश गरेको पाइएको छ। भारतीय मिडियाका सञ्चारकर्मीले बनाएको भिडियो सार्वजनिक भएपछि त्यस क्षेत्रमा अनुमति नलिइकन प्रवेश गरेको सगरमाथा निकुञ्जका वार्डेन भूमिराज उपाध्यायले बताए। उनले भने,'  म दुई-तीन दिनदेखि काठमाडौंमा छु। उता भइञ्जेल सम्म अनुमति लिएको थिएन। अहिले उता सम्पर्क गर्दा पनि अनुमति लिएको पाइएको छैन।'

विना अनुमति प्रवेश गरेका व्यक्तिलाई कस्तो कारबाही छ? भन्ने थाहाखबरको प्रश्नमा उनी भन्छन,'  त्यस विषयमा विभागमा छलफल भइरहेको छ। प्रवेश दस्तुर शुल्क लिने र त्यसको दोब्बर शुल्क लिने व्यवस्था छ।'

भिडियो बनाएर भारत गइसकेकोले कुटनीतिक सम्पर्क गरी विभिन्न प्रक्रिया अगाडि बढाएर कार्वाही गर्न सकिने उनको भनाइ छ।

अहिलेसम्म कुनै पनि व्यक्तिले अनुमति बिना प्रवेश नगरेको उनले सुनाए। उनले भने,' अनुमति बिना प्रवेश गरेको पहिलो उदाहरण बनेको छ। यो नेपाल र निकुञ्जको लागि दुःखद घटना बनेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.