प्रचण्ड–माधवदेखि खगराजसम्मको दिमाग फुस्किएको तर्क

|

डडेल्धुरा : संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको सत्तामोहका कारण देशमा अस्थिरता उत्पन्न भएको बताएका छन्। 

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधवले पद, पैसा र परिवारवादको चिन्तनले देशलाई छिन्नभिन्न बनाएको बताए। 

सत्ताको मोह देख्ने प्रचण्ड–माधवले एक अर्कोको काँधमा बन्दुक राखेर केपीलाई ढाल्न सकिन्छ भन्ने लक्ष्य भएपनि ओलीले दुवै जनाको उदेश्य समाप्त पारेको बताए। उनले १६ वर्ष एमालेको नेतृत्व गरी पार्टीलाई भताभंग बनाएर नैतिकताका आधारमा राजीनामा दिएका माधवले पार्टीलाई एकजुट बनाउन नसक्ने बताए।

‘मलाई प्रचण्डले गद्दार भनेको सुन्नुभएको होला। तर, म कसरी गद्दार भए। जबकि तत्कालीन एमालेसँग प्रचण्डले नै एकता गरें। अहिले उहाँले नै पार्टी फुटाउनु भयो,’ उनले भने, ‘सुरूमा ओलीसँग मलाई प्रचण्डले नै भेट गराउनुभएको हो। उहाँसँग भेट्दा ओलीको भनेको मान्नु, पदको सम्मान गर्नु भन्नुभयो।’

उनले त्यसैमा थपे, ‘आफैं एकता गर्ने आफैं भनेको मान्नु भनेर सिकाउने अनि पार्टी विभाजन पनि आफैं गर्ने, अनि मलाई गद्दार भन्ने ल अब तपाईंहरू भन्नुस् म गद्दार हुँ कि प्रचण्ड?’ 

ओलीको सिद्धान्त आफूलाई मन परेर ओलीको पक्षमा लागेको बताए। मुलक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको र चुनाव हुन्न भन्ने भ्रममा नरहन सबैलाई उनको आग्रह थियो। जनयुद्धको समयमा प्रचण्डले ज्ञानेन्द्रसँग सहकार्यको लागि प्रस्तावसमेत ल्याएको उनको भनाइ छ। 

‘जब ज्ञानेन्द्र सत्तामा पुगे। उनले प्रधानमन्त्रीको लागि विज्ञापन खोले। एमालेबाट माधव र माओवादीबाट प्रचण्डले आवेदन दिए,’ उनले भने, ‘हामीले प्रचण्डलाई जान दिएनौँ। तपाईंहरूले माधवलाई जान दिनु भएन।’

उनले प्रचण्ड–माधवलाई राजाको पाउमा दाम राखेर ढोग गरेको देखेको बताए। ‘दुबै जना ज्ञानेन्द्रको नजिक जाने भएकोले समीकरण मिलेको रहेछ। चिन्तन त त्यहाँ मिल्दो रहेछ,’ उनले भने।

बकुल्लालाई हाँसको जस्तै रंग रोगन गरेर र हाँससँगै छोडे पनि अन्तमा बकुल्ला एकातिर र हाँस एकातिर जाने गरेको उनको भनाइ छ। उनले भने, ‘आज त्यस्तै भयो। बकुल्ला एकातिर गए हाँस अर्कोतिर।’

प्रचण्ड–माधवदेखि खगराजसम्मको दिमाग फुस्क्यो

मन्त्री भट्टले प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताको दिमाग फुस्केको आरोप लगाएका छन्। प्रधानमन्त्रीलाई बैठकबाट भाग्यो भन्ने गरे पनि कहिल्यै नभागेको उनको भनाइ छ।

‘प्रधानमन्त्री कुनै व्यक्ति र पद होइन संस्था हो। तर, एकजना वरिष्ठ नेताले प्रधानमन्त्रीलाई तपाईंकै दिमाग खुस्क्यो भन्नु भो।’

प्रचण्ड–माधव पक्षका सुदूरपश्चिम प्रदेश कमिटीको सहइन्चार्ज खगराज भट्टलाई लक्षित गर्दै उनले भने, ‘०६४ सालको चुनावमा डडेल्धुरा सदरमुकाममा मलाई खुब गाली गर्नुभयो। साथीहरूभित्र लग्छन् फेरि उनी बाहिर आएर गाली गर्छन्। पछि भेट भएपछि सोध्दा मलाई होस् भएन भन्ने जवाफ पाएँ।’

उनले दिमाग फुस्केकालाई पहिले राँची लग्ने गरेको भएपनि अहिले पाटन अस्पतालको उत्तरपट्टि एउटा अस्पताल रहेकोले त्यही लग्नुपर्ने बताए। 

पछिल्लो समयमा भीम रावलले खोक्रो राष्ट्रवादी कुरा गर्न थालेको उनको भनाइ छ। रावललाई लक्षित गर्दै उनले भने, ‘यही धर्तीमा जन्मे र महिलाको किड्नी प्रधानमन्त्रीको लगाएको कारण होस् हराएको भनेर प्रचार गरिरहेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.