|

कुलप्रसाद काफ्ले

चितवन : त्रिशूली र कालिगण्डकीको संगमस्थल देवघाट बेणीमा आज माघे संक्रान्तिका अवसरमा मेला लागेको छ। पवित्र धार्मिकस्थल देवघाटको बेणीमा माघे स्नान भक्तजनहरुको घुइँचो लागेको छ।

स्नान गर्नका लागि भारतबाट समेत भक्तजनहरू आउने गरेका छन्। स्नान गर्नाले मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।

चितवन, नवलपुर र तनहुँको सिमानामा देवघाट पर्छ। चितवनतर्फबाट जाने भक्तजनहरु आँपटारी र रामनगरको बाटो भएर देवघाट पुग्छन्। कोरोना महामारीका कारण गतबर्ष भन्दा भक्तजनको संख्यामा केही कमी आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। समितिले सूचना नै जारी गरी कोरोनाको जोखिम कायमै रहेकाले माघे स्नान गर्न देवघाट नआउन भक्तजनहरुलाई आग्रह गरेको थियो।

यद्यपी माघे स्नान गर्न देवघाटमा हजारौँ भक्तजन पुगेका छन्। मेलामा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।

डुंगामा एक पटकमा ८ जनालाई मात्रै चढ्न दिइएको छ। मेलामा पुग्ने भक्तजनहरुलाई खानेपानी र शौचालयको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिकाक कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए।

‘स्नान गर्ने भक्तजनको संख्या गतबर्षभन्दा बढी नै होला तर कम छैन’, उनले भने, ‘झण्डै साढे तीन लाख भक्तजनहरु स्नानका लागि आउनुभएको छ। अनुशासितपूर्वक स्नान गरेर फर्कनु भएको छ।’ मास्कको अनिवार्य प्रयोग गराउन स्वयमसेवकहरु खटाइएको उनले बताए।

सजिलो र छोटो बाटोको लागि गैंडाकोट नगरपालिकाको वडा नं ३ ले केलादीघाटबाट निःशुल्क र्‍याफ्टिङ भएर जान मिल्ने व्यवस्था मिलाएको छ। झोलिंगे पुलमा पनि भक्तजनको भिडलाई मध्यनजर गर्दै एक पटकमा १२५ जनालाई जान-आउन दिइएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.