|

उदयपुर : कटारी नगरपालिका–२ खोक्सामा १५ दिनसम्म चल्ने  त्रिवेणी मेला आजबाट शुरु भएको छ। वर्षेनी लाग्ने मेला माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्ने गर्दछ। 

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा परिचित छ। तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास छ। त्यसो त आज बिहानैदेखि नै त्रिवेणीधाममा मकर नुहाउनेको भिड लागेको छ।

त्रिवेणीमा मकर नुहाउन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङ, सोलखुम्बु लगायतका छिमेकी जिल्ला हुँदै भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेको स्थानीय सुवास ढुंगाना बताउँछन्। 

मेलाको आकर्षण सोलखुम्बुको भोटे कुकुर र ओखलढुंगाको राढीपाखी हुने गरेको आयोजक समितिका अध्यक्ष नर बहादुर तामाङले बताए। तर, यस वर्ष कोभिड–१९ का कारण सोलुखुम्बुको भोटे कुकुर, ओखलढुंगाको राढीपाखी लगायतका सामग्रीहरु कम आउने गरेको उनले जानकारी दिए। यस्तै,मेलामा सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच हुने गर्दछ। 

यस वर्षको त्रिवेणी मेला सञ्चा‍लन नगर्ने कटारी नगरपालिकाले निर्णय गरेपनि चर्को जनदवाब बीच नगरपालिकाले पुनः मेला संचालनको अनुमति दिएको हो। यो मेला पूर्वी नेपालमै परिचित छ। सशस्त्र द्वन्दभन्दा पहिला माघ महिनाभरि र त्यसपछि १५ दिनसम्म लाग्दै आएको पुरानो यो मेला हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.