|

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विकास परिषदको बैठक सुरु भएको छ। देशभर भएका विकास आयोजनाको प्रगति विवरणको जानकारी दिन बैठक बसेको हो।

विकास निर्माणमा प्रगति भएका विवरणहरुको बारेमा प्रधानमन्त्रीलाई जानकारी दिन परिषद्को ४८ औं बैठक बसेको राष्ट्रिय योजना आयोगका प्रवक्ता मिनबहादुर शाहीले जानकारी दिए। उनका अनुसार देशभरका विकास निर्माणका कामकाे बारेमा प्रधानमन्त्रीलाई जानकारी दिइने छ। 

चालु आर्थिक वर्षको ६ महिना पूरा हुँदा पनि न त लक्ष्य अुसार  राजस्व उठेको छ न त अनुदान नै प्राप्त भएको छ। ६ महिनामा सरकारले गरेको सम्पूर्ण आम्दानीभन्दा २३ अर्ब रुपैयाँ बढी खर्च गरिसकेको छ। तर त्यसका बावजुद विकास खर्चको अवस्था भने निराशाजनक छ। स्रोतको अभावका कारण सरकारले कोरोना खोपको रकम जुटाउन दाता गुहार्नु परेको छ।

चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। तर आर्थिक वर्षको आधा अवधि सकिँदा ३८ प्रतिशत मात्र राजस्व संकलन भएको छ। पुस सम्म सरकारले ३ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व उठाएको छ। राजस्व संकलन अपेक्षित नभइरहँदा अनुदान समेत वार्षिक लक्ष्यको ८ प्रतिशत मात्र प्राप्त भएको छ। हालसम्म ५ अर्ब रुपैयाँ अनुदान प्राप्त भएको छ  यो आर्थिक वर्ष साढे ६० अर्ब रुपैयाँ अनुदानको लक्ष्य छ। 

आधा वर्षमा अधिक चालु खर्च भइसक्दा समेत विकास खर्चको अवस्था भने निराशाजनक छ। पुस मसान्तको अघिल्लो दिनसम्ममा वार्षिक लक्ष्यको १४ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ। यो वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा ४९ अर्ब रुपैयाँ मात्र खर्च भएको हो। 

यो वर्ष सरकारले विकास खर्चमा सुधार ल्याउन विभिन्न उपाय गरे पनि त्यसको प्रभाव नदेखिएको हो। सरकरले बजेटमा परेका सबै विकास निर्माणका काम कात्तिक १५ भित्रै सुरु भइसक्ने गरी सुधारको व्यवस्था गरेको थियो। यसबाट विकास खर्चमा सुधार आउने सरकारको अपेक्षा थियो। तर त्यसका विपरित विकास खर्चको अवस्था विगतका‍े भन्दा खस्किएको छ। 

कुल आम्दानीभन्दा खर्च अधिक भएपछि हिसाब मिलान गर्न सरकारले विभिन्न कोषमा मौज्दात रकम प्रयोग गरेर खर्च धानेको छ।  खर्च बढ्दै गएको र राजस्वको नउठेर लक्ष्य नै घटाउनुपर्ने अवस्था आएपछि सरकारले कोरोना खोपका लागि आवश्यक रकम जुटाउन दाता नै गुहार्नुपरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.