सरकारले बेवास्ता गरेको सर्वसाधरणका गुनासो

|

सर्लाही : एक सातादेखिको बढेको कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो।

अचानक बढेको चिसोले विशेष गरी विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन्। यसै गरी चौपाया र पशुपंक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्।

बिहान र बेलुकाको समयमा पानी परे झैं शीत झर्ने गरेको छ। बाक्लो हुस्सु लाग्दा पाँच दिनदेखि घाम देख्न पाएका छैनन्। न्यानो कपडा नभएको र आगो ताप्न दाउरा समेत उपलब्ध नभएका क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य छन्।

चिसोका कारण जिल्ला सदरमुकाम मलंगवासहित बरहथवा, हरिवन, लालबन्दी, नवलपुर, सोल्टी, गोडैता, बयलवासलगायतका मुख्य बजारमा मानिसको चहलपहल घटेको छ। दैनिक काम गरेर जीवनयापन गर्ने मजदुरलाई काममा निस्कन गाह्रो भएको छ। चिसो छल्न मानिसहरु घुर (आगो) तापेर दिन काटिरहेका छन्। विद्यालयमा साना विद्यार्थीको संख्या घटिरहेका बागमती–५ स्थित जनता माविका प्रधानाध्यापक ज्ञानकुमार महतोले जानकारी दिए।

यता जिल्ला विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अचानक बढेको चिसोले विपन्न तथा सुकुम्वासी परिवारको दैनिकी कष्टकर बन्दै गएको बताए। उनले २० वटै स्थानीय तहका प्रमुखहरुलाई चिसोबाट प्रभावितको सुरक्षामा ध्यान दिन वन कार्यालय र सामुदायिक वनसँग समन्वय गरेर सार्वजनिक स्थलहरुमा दाउरा वितरण गर्न अनुरोध गरेका छन्। यसरी चिसोका कारण जिल्लावासीको जीवन कष्टकर बन्दै गए पनि स्थानीय तहले भने तदारुकता नदेखाएको स्थानीयको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.