|
photo : navbharattimes.indiatimes.com

काठमाडौै : नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको भारततर्फको क्षेत्रमा प्वाल पारेर डिजेल चोरी भएको पाइएको छ।

भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’का अनुसार बिहारको सिवान अन्तर्गतको नविगञ्जस्थित डुमरा गाउँ नजिकै पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको हो। सुरुमा पाइपलाइनमाथिको खेतमा डिजेल देखिएपछि सुरक्षार्थ खटिएका अधिकारीले चुहावटको सूचना दिएका थिए।

त्यसलगत्तै उक्त स्थानमा गरिएको जाँचमा मुख्य पाइनलाइनमा प्वाल पारी डिजेल चोरी भइरहेको खुलेको हो। यसबाट प्रतिदिन हजारौँ लिटर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन्। करिब चार फिट जमिनमुनि गाडिएको पाइपलाइनबाट डिजेल चोरी गर्नेहरुलाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको भारतीय अधिकारीहरुले बताएका छन्।

यसबाट भारत सरकारलाई करोडौँ नोक्सान भएको बताइएको छ। नेपाल आयल निगमले भने पाइपलाइनमा आक्रमण भएको जानकारी पाएको तर डिजेल चोरीको जानकारी प्राप्त नभएको जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले पाइपलाइनबाट नियमित डिजेल आपूर्ति भइरहेको बताए। पाइपलाइनमा आक्रमणलत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमको भनाइ छ। पटनाबाट सिवान, मोतिहारी हुँदै अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनमार्फत डिजेल आयात हुँदै आएको छ। यसका लागि भारतको मोतिहारीदेखि नेपालको बारा जिल्लाको अमलेखगञ्जसम्म ६९ दशमलब २ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.