|

भद्रपुर : जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जिल्लामा बढ्दो लागु औषध कारोबार र ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडाइ गरिने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौंबाट भर्खरै सरुवा भएर झापा आएका एसपी भट्टराईले शुक्रबार पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले २०६२ सालमा प्रहरी निरीक्षकका रुपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जिम्मेवारी सम्हालिसकेका छन्। १५ वर्षपछि पुनः जिल्लाकै नेतृत्व सम्हाल्ने मौका मिलेको बताउँदै एसपी भट्टराईले लागु औषध र दुर्व्यसनीको संख्यामा बढिरहेको प्रहरीको तथ्यांकमा पाइएको बताए।

‘१५ वर्षअघि सीमा नाका बस्दा जस्तो अवस्था थियो, अहिले पनि त्यस्तै अवस्था छ। भारतको पानीटंकी बजारमा सहज रुपमा लागु औषध खरिद गर्न पाउँदा त्यस्तो समस्या ज्युँकात्युँ नै छ,’ उनले भने, ‘लागुऔषधको कुलतमा फसेका युवायुवतीलाई त्यसबाट मुक्त बनाउन र अवैध कारोबार रोक्न भारतीय काउन्टर पार्टसहरुसँग समन्वय र सहकार्य गरेर आफ्नो कार्यकालमा अभियान नै थाल्छौं।’

एसपी भट्टराईले सीमा नाका बन्द रहेको अवस्थामा भारतीय नम्बर प्लेटका सवारीसाधन खुलेआम सञ्चालनमा आइरहेकाले त्यसलाई रोक्न सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए। सीमा नाकामा हुने अवैध चोरी निकासी तथा सवारी दुर्घटना न्यूनीकरण, मानव बेचबिखन रोकथाम, सामाजिक अपराध नियन्त्रण, सामुदायिक प्रहरीमार्फतको साझेदारी कार्यक्रमलाई फोकस गरेर कार्यान्वयन ल्याउने उनले प्रतिवद्धता जनाए।

प्रहरीसँग जनताको व्यवहार र आचरणलाई शुद्धीकरण गर्दै लैजाने बताउँदै उनले भने, ‘प्रहरीले घटेका घटनालाई तुरुन्त रेस्पोन्स गर्नेछ र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउने छ।’ पत्रकार तथा सञ्चारमाध्यमलाई प्रदान गरिने सूचना एकद्वार प्रणालीबाट दिने र त्यसमा कसैलाई काखा र पाखा नगरिने उनले प्रतिवद्धता व्यक्त गरे।

प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले पत्रकारले हतारमा समाचार लेख्नुभन्दा पनि प्रहरीबाट घटनाको सत्य तथ्य बुझेर आधिकारिक सूचना जनतामाझ सम्प्रेषण गर्न आग्रह गरेका छन्। पत्रकारलाई सूचना नदिँदा पनि आफ्नो नाम उल्लेख गरेर समाचार प्रकाशन गर्दा आफूलाई समस्यामा पार्ने काम गरिएकाले त्यसो नगरिदिन उनले सबै पत्रकारलाई अनुरोध गरे।

प्रहरीले दैनिक घटना विवरण इमेलबाट सबै पत्रकार र सञ्चारमाध्यमलाई एकैसाथ उपलब्ध गराउँदै आएकोले न बुझेका कुरा आफूलाई फोन गरेर सोध्न उनले आग्रह समेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.