|

काभ्रे : जिल्लाको दुर्गम गाउँपालिकामध्ये एक खानीखोला गाउँपालिका वडा नम्बर ३ चत्रेस्थित केन्द्र ज्योती प्राथामिक विद्यालयमा अहिले कक्षा १ देखि कक्षा ५ सम्म करिब ६० जना विद्यार्थी अध्ययनरत छन्।

ती ६० जना विद्यार्थीको भविष्य निर्माण गर्ने जिम्मा २ जना शिक्षिकाको हातमा छ। विद्यालयमा ती विद्यार्थीहरूको जिम्मेवारी प्रधानाध्यापक सनिता दर्लामी र शिक्षिका सञ्चमाया वाइबाको हो। 

दाजुभाईको सक्रियतामा स्मार्ट भवन

वि.सं. २०७२ साल बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले विद्यालय भवन भत्काइदियो। घर नजिकै रहेको विद्यालय भवन आँखैअघि कुरुप भग्‍नावशेषमा परिणत हुँदा जिम्बा दाजुभाई (अविरल जिम्बा र सागर जिम्बा) ले निकै पीडा महसुस गरे।

युवा समाजसेवी अविरल जिम्बाले गाउँको विकासका लागि केही गर्नुपर्छ भनी अनेकौं योजना बुन्न थाले। उनले योजना दाजु सगर जिम्बालाई सुनाए। सगरले पनि भाइको सपना तथा योजना सफल पार्न दह्रो साथ दिए। अनि विद्यालय भवन बनाउने योजना शुरू भयो।

त्यतिबेला सागर कोरियाको एक दशक लामो बसाईलाई बीट मारेर स्वदेश फर्किएका थिए। काठमाडौँ उपत्यकामा ‘छार नेपाल कन्ट्रक्सन’ (एसवाई प्यानल) नामक संस्था खोलेर व्यवसायसमेत शुरू गरिसकेका थिए।

अन्ततः दुई दाजुभाईले आफ्नै पहलमा कोरियन प्रविधिको भूकम्प प्रतिरोधी स्मार्ट विद्यालय भवन आफ्नै गाउँमा निर्माण गर्न सफल भए। जिम्बा दाजुभाईको योजना पुस २९ मा विद्यालय भवन हस्तान्तरण गरेसँगै साकार भएको छ। 

दुर्गम डाँडापारीमा कोरियन प्रविधिबाट बनेको उक्त भूकम्प प्रतिरोधी स्मार्ट विद्यालय भवन फ्रान्सेली संस्थाको आर्थिक सहयोग, आहाना नेपाल फाउण्डेशनको समन्वय, अविरल जिम्बा र सागर जिम्बाको पहलसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष तथा युवा नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’को प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।

दाजुभाईले यसरी साटे खुशी

विद्यालय भनव हस्तान्तरण कार्यक्रममा खुशी मुद्रामा देखिएका अविरल जिम्बाले खुशी साट्दै भने, ‘भूकम्पको त्यो समयमा भत्केको भवन देख्दा दुखेको मन, भारी लागेको आफ्नै शरिर अहिले यो भवन हस्तान्तरण गर्दै गर्दा एकाएक खुशीमा परिणत भएको छ, त्यतिबेलाको कहालीलाग्दो क्षण बिर्सेको छु,’ उनले थपे, ‘आगामी दिनमा सामाजिक कार्यमा अझ बढी सक्रिय भएर लाग्नेछु।’

त्यस्तै, अर्का पहलकर्ता सगर जिम्बाले भूकम्पको बेला फाटिएका मन र पानी परेको बेला बालाबालिकाले ओत लाग्ने ठाउँ नपाउँद दुखेको मन भवन हस्तान्तरणसँगै खुशीमा रमाएको बताए।

‘हामीले देखेको सपना र बालेको कुरा पूरा गर्न सफल भएको छ, यस अर्थमा धेरै खुशी छु’ उनले भने, ‘यदी समाजमा विकास नै गर्ने हो भने राज्यको मात्र भर पर्नुपर्दैन भन्ने यो एउटा सन्देश पनि हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.