|

जाजरकोट : आवश्यक भौतिक पूर्वधार नहुँदा भेरी नगरपालिका–५ काफलचौरस्थित जाजरकोट बहुप्राविधिक शिक्षालय खुल्ला आकाशमा सञ्चालन भएको छ। विद्यार्थीहरू दैनिक खुल्ला आकाशमा कार्पेटमा बसेर पढ्न बाध्य भएका छन्। 

शिक्षकले बोर्ड बाँसको पोलमा झुण्ड्याएर पढाई गर्छन्। विद्यार्थीहरू चौरमा बिछ्याइएको कार्पेटमा बसेर सिकाई गर्छन्‌। बर्षात, हावा र चर्को घाम लाग्दा शिक्षालयको पढाई बन्द गर्नुपर्ने अवस्था रहेको शिक्षालयले जनाएको छ।

काफलचौरमा शिक्षालयको नाममा २२ रोपनी जग्गा रहेको छ। कुर्सी, बेन्च, दराज लगायत फर्निचर समेत छैनन्। शौचालय र खानेपानीको समेत नहुँदा विद्यार्थी तथा शिक्षकहरू हैरान भएका छन्। शिक्षक र विद्यार्थी शौचालयको अभावमा जंगल गएर दिसापिसाब गर्न बाध्य भएको विद्यार्थी सरस्वती केसीले बताइन्‌।

४ कोठे भाडाको कच्ची घरमा कार्यालय तथा आवास संचालन भइरहेको शिक्षालयमा पुसदेखि पठनपाठन सुरु भएको थियो। शिक्षालयमा डिप्लोमा वन विज्ञान, डिप्लोमा पशु विज्ञान र डिप्लोमा सिभील इञ्‍जिनियरिङको पढाई संचालन गर्दै आएको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले जानकारी दिए।

३ वर्षअघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट शिक्षालय संचालनको स्वीकृत पाएको थियो। उक्त शिक्षालयको प्रथम वर्षको वन विज्ञानमा ३७, सिभील इञ्‍जिनियरिङ ४८ र पशु विज्ञानतर्फ २९ जना विद्यार्थीहरूले अध्ययन गरिरहेको प्रमुख ठकुरीले बताए। पूर्ण सरकारी स्वामित्वको यस शिक्षालय सञ्‍चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापन नहुनु बिडम्बना भएको उनको भनाइ छ।

यहाँका नेताहरूले परिषदबाट शिक्षालयको स्वीकृति ल्याउँदाताका झैँ पूर्वाधार निर्माण तथा गुणस्तरीय पठनपान संचालन गर्नतर्फ कुनैपनि ध्यान नदिएको ठकुरीको भनाइ छ।

उनले भने, 'भवन समेत नहुदा प्राविधीक शिक्षा जस्तो विषयमा कसरी पढाई गर्ने, न ल्याब, न फर्निचर छ। ' पिउने पानी समेत ३ किलोमिटर टाढाबाट बोकेर ल्याइ पढ्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरूको भनाइ छ। पढ्ने ठाउँ नजिकै स्थानीयवासीहरूका घर नहुँदा १ घण्टा टाढाको छिप्रेना गाउँमा बास बस्नु परेको विद्यार्थीहरू बताउँछन्‌।

शिक्षालय खलंगा सदरमुकाम देखि १०÷१२ किलोमिटर टाढा पश्चिम स्थित काफलचौरमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.