|

काठमाडौं : सरकारले भारतीय सिरम कम्पनीबाट उत्पादित 'कोभिसिल्ड' खोपले तत्कालिन प्रयोगका अनुमति दिइसकेको छ।

'कोभिसिल्ड' खोपको आपतकालीन प्रयोगका लागि शुक्रबार बसेको बैठकले उत्पादक कम्पनीलाई अनुमति दिएको थियो। अनुमति पाएसँगै निजी कम्पनी तथा 'जिटुजी' माध्यमबाट खोप आयात गर्नलाई प्रक्रिया अगाडि बढाउन सहज हुने भएको छ।

नेपालमा खोप ल्याउँने बाटो खुलेसँगै खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिन सरकारले तयारी सुरु गरिसकेको छ। 

स्थानीय, प्रदेश र केन्द्रीय सरकारमातहत रहेका करिब १० हजार स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाउनेसम्बन्धी तालिम दिने तयारी गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा बताउँछन्। डाक्टर शर्माका अनुसार एक सातादेखि खोप लगाउनका लागि विभिन्न तहका स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु हुनेछ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अग्रपङ्तिमा रहेर काम गर्नेहरूलाई खोप दिने सरकारको योजना छ। स्वास्थ्य संस्थामा त्यसरी काम गर्ने स्वास्थ्यकर्मीको विवरण पनि सरकारले मागिसकेको छ।

'तालिममा सहभागी र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइन्छ,' थाहाखबरसँग टेलिफोनमा शर्माले बताए, 'दोस्रो चरणमा ७५ वर्ष माथिका नागरिकलाई खोप दिइन्छ। अहिले जिल्ला-जिल्लाका स्वास्थ्यकर्मीको विवरण राखिने सुरु गरिएको छ।'

वडा-वडामा रहेका महिला स्वयं सेविकालाई तालिम दिइने उनले जानकारी दिए। अन्य खोप लगाएको जस्तै गरेर तालिम दिनुपर्ने हुन्छ। फाइलमा आउने भएकोले कति लगाउनुपर्ने त्यसको बारेमा जानकारी दिनलाई भए पनि तालिम दिनुपर्ने उनको ठहर छ।

आपतकालीन भ्याक्सिन प्रयोगको लागि सरकारले अनुमति दिइसकेको छ। प्रयोगको लागि अनुमति पाउनु नै स्वास्थ्यकर्मीहरुलाई खोप प्रयोग गर्नलाई तालिम दिन सुरु गर्नु दिनु उनको बुझाइ छ। पहिलो प्राथमिकतामा परेकालाई खोप दिनलाई सरकारको तीव्र तयारी रहेको उनले जानकारी दिए।

'५० लाखसम्म खोप भण्डार गर्न सकिने स्थान बनिसक्यो'

सरकारले आपतकालीन प्रयोगका लागि अनुमति पाएको खोपको भण्डारण गर्न प्रर्याप्त स्थान रहेको उनको भनाइ छ। खोपलाई दुईदेखि आठ डिग्रीसम्म तापक्रममा राख्नु पर्नेछ। 'सिरमको अधिकतम मात्रामा आयात भएका खोपलाई राख्न सकिने ठाउँ छ,' उनले भने,' अहिलेको भौतिक संरचनामा राख्नुपर्ने भएमा त्यसको लागि ठाउँ अभाव हुँदैन।'

मुलुक भरका विभिन्न स्थानमा गरेर ५० लाख खोप राख्न  सकिने ठाउँ छ। मुख्य-मुख्य सहरका ठूला-ठूला अस्पतालमा खोप भण्डार केन्द्र रहेको उनको भनाइ छ। धरानको बिपी प्रतिष्ठान, विराटनगर, पोखरा र नेपालगन्ज र हरेक जिल्ला अस्पतालमा स्वास्थ्य संगठनको मापदण्ड अनुसार खोप राख्न सकिने स्टोर बनाइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.