बारा : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि जनता समाजवादी पार्टी (जसपा) आन्दोलित छ। प्रदेश २ को सरकार सञ्चालन गर्दै आएको दल जसपाले प्रदेशका ८ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै आएको छ।
प्रधानमन्त्री ओलीको कदम संघीयताविरोधी रहेको भन्दै त्यस विरुद्ध जसपाले बारामा शनिबार शक्ति प्रदर्शन गर्दै प्रदर्शन र विरोधसभा गरेको छ।
जिल्लाका १६ वटै स्थानीय तहबाट सदरमुकाम कलैयामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो। सभालाई जसपाका नेताहरुले सम्बोधन गर्दै जनताले प्रधानमन्त्री ओलीको कदम सच्याउने दाबी गरेका छन्।
प्रदेश २ सरकारका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका जसपा केन्द्रीय कार्यकारी समिति सदस्य जीतेन्द्र सोनलले आन्दोलनकै बलमा ओलीलाई साईजमा ल्याउने बताए। उनले ओलीविरुद्ध संयुक्त संर्घषमा जानुको विकल्प नभएको बताए।
जसपा जिल्ला अध्यक्ष अजय पटेलको अध्यक्षमा भएको सभालाई विघटित सासंद रामसहायक यादब, रामबाबु यादब, एकबाल मियाँ, संविधानसभा सदस्य प्रमोद गुप्ता, आर्थिक योजना राज्यमन्त्री उषा यादब, प्रदेश सभा सदस्य पारस साह, जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंह, उपप्रमुख पवनकुमार व्याहुतलगायतले सम्बोधन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।