‘संविधानको रक्षक हुनुपर्ने राष्ट्रपति नै भक्षक’

|

कुलप्रसाद काफ्ले

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरू विषले भरिएका घडा भएको भएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस भरतपुर महानगर समितिले  शनिबार भरतपुर–१९ शारदानगर टाउनमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।

विरोधसभामा सम्बोधनका क्रममा उनले कम्युनिष्टहरूको मुखमा दूध तर भित्र विष भएको कुरामा जनता छर्लङ्ग भएको बताए। कांग्रेसलाई पाखा लगाएर तत्कालीन एमाओवादी र एमाले स्वार्थकै लागि मिलेको उनको भनाइ थियो। सिद्धान्त मिलेर एकता गरेको भए कम्युनिष्टले यति छिट्टै विग्रह नगर्ने उनले बताए। ‘कम्युनिष्ट भन्ने कुरा विषले भरिएको घडा रहेछ भन्ने छर्लङ्ग भएको छ। सिद्धान्त मिलेर मिलेका रहेनछन्’, उनले भने, ‘स्वार्थका लागि मिलेका रहेछन्। सत्ताको भोग गरौँ भनेरै यिनीहरु मिलेका रहेछन्।’

सत्तामा कुरा नमिलेपछि फेरि फोडिएको उनले बताए। देशलाई ठूलो दुस्चक्रमा फसाउन खोजिएको उनले बताए।

त्यस्तै, उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई धम्की दिएको बताए। भत्किएको प्रतिनिधिसभालाई पुन:स्थापना गरियोस् भनेर कांग्रेसले विरोध प्रदर्शन गर्दा अदालतलाई कुनै दबाब नपर्ने उनले बताए। ‘ओलीले अदालतमाथि गरेको हस्तक्षेपको हामिले काउन्टर गरेको हो’, उनले भने।

पार्टीमा झगडा भयो भनेर जनताको प्रतिनिधिसभालाई सडकमा फालेर प्रधानमन्त्री ओली तानाशाह बन्न खोजेको उनले बताए। ‘राजनितिक निर्णय हो भनेर ओलीले मुद्धालाई खारेज गरिदिन अदालतलाई आदेश दिँदै छन्। प्रधानमन्त्रीले आदेश दिने हो ? दबाब दिने हो?’ उनले प्रश्‍न गरे।

लोकतन्त्रमाथि चिरहरण हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने उनले बताए। ‘चुनाव आएको छ भनेर कतिलाई रमाइलो लागेको छ। अब हाम्रो पालो आइहाल्यो भनेर हतारिएर कांग्रेस दगुर्दैन’, उनले भने। कांग्रेस लोकतन्त्रको रक्षाको लागि जन्मिएको पार्टी भएको भन्दै उनले कांग्रेसले पहिला संविधान र लोकतन्त्र बचाउने बताए।

संविधानलाई बचाएर मात्रै कांग्रेस चुनावमा जाने उनले ठोकुवा गरे। ‘यस्ता चुनाव पञ्चायतको पालामा कति आए गए’, उनले भने, ‘लोकतन्त्र बच्नुपर्‍यो। संविधान जोगाएर मात्रै चुनावको कुरा गर्नुस्।’ अदालतसँग अपिल गर्न पाउनुपर्ने भन्दै उनले कांग्रेसले अपिल मात्रै गरेको तर ओलीले धम्की र दबाब दिइरहेको बताए।

‘संविधानको रक्षक हुनुपर्ने राष्ट्रपति नै भक्षक’

त्यस्तै, नेपाली कांग्रेस खैरहनी नगर समितिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न पुगेका कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीमाथि खनिए।

राष्ट्रपति एक पार्टीको कार्यकर्ता मात्र भएको आरोप लगाउँदै उनले राष्ट्रपति संविधानको रक्षक बन्नुपर्नेमा भक्षक भएको बताए। ‘राष्ट्रपतिले जनताको सुख दुःख बुझ्न सकिनन्’, नेता गुरुङले भने, ‘संविधानको रक्षक नै एक पार्टीको कार्यकर्ता मात्र भइन्।’

नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको पनि बताए।  राष्ट्रिय एकताको पक्षमा र भ्रष्टचारको विरोधमा कांग्रेसले निरन्तर सडक आन्दोलन गर्ने पनि गुरुङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.