|

संखुवासभा :  जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदी बन्दी राख्दा समस्या भएको छ। २५ जना कैदीको क्षमता भएको खाँदबारी कारागारमा एक सय ४३ जना कैदी बन्दी राख्नु परेको खाँदबारी कारागारका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए।

खाँदबारी कारागारमा एक सय ३४ पुरुष र ९ जना महिला कैदी बन्दी छन्। त्यसमा १२ जना ज्येष्ठ नागरिक रहेका छन्। जिल्ला कारागार खाँदबारी ३.५ रोपनी क्षेत्रफल फैलिएको छ। उनीहरूको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि प्रयाप्त ठाउँ नभएको जेलर अधिकारीले बताए।

क्षमताभन्दा बढी संख्यामा कैदी बन्दी संख्या भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्ने समेत समस्या हुने गरेको कारागारका चौकीदार पर्शुराम  राईले बताए।

कैदीबन्दीहरू कारागार भित्र पुगेपछि मानवीय व्यवहार पाउनुपर्ने भए पनि त्यसअनुरुप सुविधा दिन सक्ने अवस्था नभएको जेलर अधिकारीले बताए। कारागारको सुधार तथा क्षमता वृद्धि गर्ने लागि माथिल्लो सरोकारवाला निकायलाई पटक-पटक अनुरोध गरे पनि बेवास्था गरिएको जेलर अधिकारी जानकारी दिए।

क्षमताभन्दा पाँच गुणा कैदी बन्दी राखिएको खाँदबारी कारागारमा उनीहरूको सुधार गृहभन्दा पनि यातना स्थल भएको देखिन्छ। भौतिक संरचना प्रयाप्त नहुदाँ कैदीहरुले बर्खो याममा पानी चुहिने छाप्रोमा खाना पाकएर खानुपर्ने बाध्यता रहेको कैदी धनबहादुर खालिङले गुनासो गरे।

खाँदबारी कारागारमा आपतकालीन अवस्था आएमा तत्कालै उद्दार तथा सुरक्षा दिनसमेत कठिन रहेको छ। कारागारको माथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने  तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक  पुर्‍याउने सकिएको छैन।

कारागार जाने माथिको साइडमा सानो भिरालो सिडी (भञ्याङ) ओर्लिए मात्र पुग्न सकिन्छ। आपतविपद् पर्दा उद्दारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत नभएको जिल्ला कारागार खाँदबारीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.