६ करोड लगानी र मासिक ३ लाख रुपैयाँ तिरेर गरियो सरकारसँग सहकार्य

|

काठमाडौं: २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा धस्सिएर दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान  अब म्युजियममा परिणत हुने भएको छ। वेद उप्रेती ट्रस्टले यस विमानलाई संग्रहालयमा परिणत गर्ने भएको हो।  

निर्माण अन्तर्गतको शनिबार पहिलो चरणको शुभारम्भ गरिएको म्युजियम आगामी साउन महिना देखि भने सर्वसाधरणको लागि खुल्ला गरिने वेद उप्रेती ट्रष्टका कार्यकारी अधिकृत क्यापेटन वेद उप्रेतीले जानकारी गराएका छन्।  नागरिक उड्यन प्राधिकरणको सिनामंगलमा रहेको जग्गामा क्यापेटन वेद उप्रेतीले संग्रहालय निर्माण गरिरहेका छन्।

धनगढीमा समेत यस्तै प्रकारको संग्रहालय संचालन गरिरहेको वेद उप्रेती ट्रष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमै संग्रहालयको तयार गर्न थालेको हो।  यसको लागि डिजेबल उक्त विमानलाई एसेम्बलको काम सकिएको ट्रष्टका सिइओ वेद उप्रेतीले जानकारी दिए। एसेम्बलको लागि टर्कीबाट प्राविधिकहरु आएका थिए।

काठमाडौंमा दुर्घटनामा परेको टर्किसको ए–३०० सिरिजको विमानका महत्वपुर्ण पार्टसहरु लिएर बाहिरको कभर बिक्री गर्ने निष्कर्षमा पुगेको थियो। टर्किसको उक्त विमान ट्रष्टले एक करोड रुपैयाँमा किनेका थिए। वेद उप्रेती ट्रस्टले संग्रहालय तयार गर्नका लागि थप ५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ। यसको लागी ट्रस्टका कार्यकारी अधिकृत उप्रेतीले आफैंले  ४ करोड रुपैयाँ लगानी गरेका छन्। उनले एभरेष्ट बैंकबाट थप २ करोड रुपैयाँ कर्जा उठाएका छन्। ६ करोडभन्दा माथि लागत लाग्ने अनुमान गरिएको यो संग्राहलयमा ट्रष्ट र नागरिक उड्डयन प्राधिकरणको संयुक्त स्वामित्व हुने बताइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उक्त विमानलाई दश टुक्रा बनाएर अघिल्लो महिनामात्र  सिनामंगलको शसस्त्र प्रहरी क्याम्प छेउमा सारिएको थियो। टुक्रा पारेर सार्ने र त्यसलाई पुनः एसेम्बल गर्न टर्किस एयरका प्राविधिकहरु खटिएका थिए। 

टर्किसको ए सिरिजको पहिलो संग्रहालय

४ सय ४०  सिट अत्याधिक क्षमता भएको यो विमानमा बन्‍ने संग्रहालय टर्किसको ए सिरिजको संसारकै पहिलो हुने उप्रेतीको भनाइ छ। 

‘यो एयरबसको ए सिरिजको विमान हो,उडेको नौ महिनामै दुर्घटनामा पर्यो’ उनले भने,‘यो हाम्रो सौभाग्य भनौं कि दुर्भाग्य। यो मोडलको विमानमा बनाइएको यो पहिलो संग्रहालय हुनेछ,’ उनले भने। 

दुईवटा इन्जिन भइएको एयरबस वाइड बडी यो विमान  २ सय ८ फिट अग्लो, ५५ फिट चौडा छ।  उक्त विमानभित्र हवाई सुरक्षा र एयरहोस्टेजको तालिम तथा सेमिनारको व्यवस्था पनि हुने उप्रेतीले जानकारी दिए। हवाई क्षेत्रमा विद्यार्थीहरुको रुची बढाउन, यो क्षेत्रप्रतिको उत्सुकता मेटाउनको लागि यस्तो व्यवस्था गरिएको संचालक उप्रेतीको दाबी छ। 

मासिक ३ लाख रुपैयाँ तिरेर सरकारसँग सहकार्य

नेपाल सरकार नागरिक उड्ययन प्राधिकरणको सहकार्यमा म्युजियम संचालनमा ल्याउने भएता पनि उप्रेतीले प्राधिकरणबाट आर्थिक तथा अन्य किशमको सहयोग भने लिएका छैनन्।

सरकारले जग्गा उपलब्ध गराएबापत ट्रष्टले मासिक रुपमा करिब ३ लाख रुपैयाँ भाडा तिर्ने उप्रेतीले बताए। उनले उक्त संग्राहलयमा प्रवेशका लागि ट्रस्टले शुल्क निर्धारण गर्न बाँकी नै रहेको बताए। कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई भने नि:शुल्क प्रवेशको व्यवस्था हुने पाइलट उप्रेतीले जानकारी दिए। 

'मैले कसैबाट पनि रकम उठाएको छैन सरकारलाई लिजमा लिएको जग्गाको भाडा म तिर्नेछु , मैले कमाउँदा समेत म्युजियम घाटामा गएपनि मेरो कमाई हाल्नेछु सकिन भने बन्द हुनेछ' उप्रेतीले भने।

उप्रेतीले म्युजियम संचालनमा ल्याउने अनुमति लिनका लागि सरकारसँग सहकार्य गरेको बताएका छन्। संसारमा अर्को दशकभित्र करिब पाँच लाख  हवाई इन्जिनियर र साढें तीन लाख पाइलट आवश्यक हुने भएकोले आइकाओको उक्त कार्यक्रमसँग मिलेर नेपालमा पनि आफूले सहकार्यको अवधारणा ल्याएको बताए। 

भर्खरै संस्कृती पर्यटन तथा नागरी उड्ययन मन्त्रालयबाट खानेपानफ मन्त्रालयको जिम्मेवारी पाएका मन्‍त्री जीवन बहादुर शाहीले भने, ' सबै किसिमको कस्ट आफैले तिरेर सरकारसँग सहकार्य गरिएको छ, यो अचम्मको सहकार्य छ।'

संग्रहालयमा केके हुनेछ
संसारकै महंगो र ठुलोमध्येको एक विमान ए–३३० विमानमा हवाई क्षेत्रका विभिन्न जानकारीमुलक सामग्री रहने ट्रष्टले जानकारी दिएको छ। संग्राहलयका राखिने विमानका विभिन्न मोडलहरु संसारभर रहेका नेपालीहरुले पठाउन सक्ने र ति विमानमा पठाउने मान्छे र इच्छाएका मान्छेहरुकै नाममा राखिने उप्रेतीले जानकारी दिए। त्यसरी विमानका मोडल पठाउन चाहनेले १ः१०० वा १ः२०० साइजमा हुनेछन्।


यस संग्रहालयमा जहाजको आविष्कार गर्ने राइट ब्रदरको पालादेखि हालसम्मका सबै विमानका मोडल रहने छन्। हवाईजहाजबारे जानकारी लिन चाहने आगन्तुकहरुले यस संग्रहालयमा त्यस्ता दुर्लभ विमानका मोडलहरु अवलोकन गर्न पाउनेछन्। विमानबाट खिचिएका सुन्दर फोटोहरु पनि संग्रहालयमा राखिनेछ। यस संग्रहालयमा जेट ककपिट र पाइलटको सिटमा बसेर फोटो खिच्न पाइने छ। विमान चढ्न र नजिकैबाट देख्न नपाएकाहरुले प्रत्यक्ष अवलोकनको मौका पाउनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.