|

पर्सा : मध्यतराईमा शीतलहर बढेसँगै चिसोको कारण वीरगञ्‍ज  महानगरपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन्। यो वर्षकै अधिक चिसो हुन थालेपछि प्रदेश-२ को एक मात्र वीरगन्ज महानगरपालिका क्षेत्रका सबै प्रकारका विद्यालय ३ दिनका लागि बन्द भएका हुन्। 

महानगरको शिक्षा महाशाखासँग अनौपचारिक सहकार्य गरी यस्तो निर्णय गरिएको प्राइभेट एण्ड बोर्डिङ स्कूल अर्गनाइजेशन नेपाल (प्याव्सन) पर्साले जनाएको छ।नेपाल शिक्षक महासंघ वीरगन्ज महानगर र प्याव्सनको शनिबारको सम्पन्न संयुक्त बैठकले यस्तो निणर्य गरेको शिक्षक महासंघ वीरगञ्‍ज महानगर अध्यक्ष विनोद मेहताले बताए। 

३ दिन बन्द हुने

प्याब्सन र शिक्षक महासंघ महानगरको यो निर्णयपछि आइतबारबाट मंगलबारसम्म ३ दिन यस क्षेत्रका सबै प्रकारका विद्यालयहरू बन्द गर्न संयुक्त अपिल गरिएको छ। आफ्नो अनुकूलता हेरी अपवादमा खुलेबाहेक प्रायः सबै विद्यालय बन्द भएको प्याब्‍सन महानगरका अध्यक्ष आलोक कुमार चौरसियाले बताए। प्याव्सन र शिक्षक महासंघको निर्णयपछि महासंघका महानगर अध्यक्ष मेहता र प्याव्सनका महानगर अध्यक्ष चौरसियाले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।

 

उस्तै लक्षण देखिने चिसोबाट बचाउन विद्यालय बन्द

कोरोनाको त्रासका बीच उस्तै लक्षण देखिने चिसोले बालबालिकामा रुघाखोकी निमोनिया जस्तो रोग नेदेखियोस् भनी उनीहरूलाई बचाउन यस्तो निर्णय गर्न परेको शिक्षक महासंघ वीरगन्ज कमिटीले जनाएको छ।

यता, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतमले पनि प्याव्सन र शिक्षक महासंघले के गर्ने भनी परामर्श लिएको बताए। आगामी हुने लामो बिदामा कट्टा गर्ने गरी ३ दिन बन्द गर्ने कि भन्ने कुरा आएपछि सहमत जनाएको उनको भनाइ छ।

सहकार्य त भएन : नगरप्रमुख सरावगी

वीरगञ्‍ज महानगरका नगरप्रमुख विजयकुमार सरावगी कोरोनाको कारण यो शैक्षिक सत्रमा धेरै दिन विद्यालयहरू बन्द रहेको कारण विद्यालय नै बन्द गर्न नहुने बताउँछन्।

'५ कक्षासम्मका बालबालिकामा बढि समस्या देखिएको थियो। सतर्कता अपनाएर त्यो भन्दा माथिका कक्षा संचालन गरेको भए पनि हुने थियो', उनले भने। विद्यालय बन्द गर्ने कुरामा आफूसँग भने सहकार्य नभएको उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.