|

भारतको रिपब्लिक टिभीका पत्रकार अर्णव गोस्वामी र ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिल (बार्क)का पूर्वप्रमुख पार्थो दासगुप्ताबीच भएको भनिएको ह्वाट्सएप च्याट लिक भएसँगै सुरू भएको विवाद पाकिस्तानसम्म पुगेको छ।

उक्त कुराकानीमा पुलवामा आक्रमण र बालकोट एयर स्ट्राइकबारे चर्चा गरिएको छ। सामाजिक सञ्जालमा समेत भाइरल भएको ह्वाट्सएप च्याटबारे धेरैले प्रश्न उठाएका छन्– अर्णवलाई ती हमलाहरूबारे कसरी पहिल्यै जानकारी भयो? यसरी प्रश्न उठाउनेमा अब पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि थपिएका छन्।

ट्वीट गर्दै इमरानले भनेका छन्‚ ‘सन् २०१९ मा संयुक्त राष्ट्र महासभामा मैले फासिस्ट मोदी सरकारले चुनावी फाइदाका लागि बालकोटको प्रयोग गरेको बताएको थिएँ। भड्काउपूर्ण भाषा बोलेर चर्चित भएका एक भारतीय पत्रकारको कुराकानीले मोदी सरकार र भारतीय मिडियाबीच चलिराखेको गलत तानाबानालाई दर्साउँछ।’

अर्को ट्वीटमा उनी लेख्छन्‚ ‘ती घटनामार्फत खतरनाक दुस्साहसको स्थिति पैदा गरियो‚ जसको मद्दतले चुनाव जित्न सकियोस्। त्यसले पूरै क्षेत्रमा अस्थिरता पैदा गर्न सक्ने कुरालाई देखेको नदेख्यै गरियो। बरू पाकिस्तानले बालकोट मामिलामा जिम्मेवार र सन्तुलित प्रतिक्रिया दियो‚ जसका कारण संकटले ठूलो रुप लिन पाएन।’

त्यस्तै‚ अर्को ट्वीटमा इमरानले लेखेका छन्‚ ‘भारतले पाकिस्तानमा कसरी आतंकवादलाई बढावा दिइरहेको छ‚ भारतीय नियन्त्रणको जम्मू कश्मीरमा कसरी ज्यादती गरिराखेको छ र कसरी १५ वर्षदेखि पाकिस्तानबारे कुप्रचार गरिराखेको छ भन्ने कुराबाट अब पर्दा उठेको छ। भारतकै मिडियाले त्यस्तो गठबन्धनबारे चर्चा गरिराखेका छन्। त्यस्तो गठबन्धनका कारण परमाणुसम्पन्न पूरै क्षेत्र बाहिर निस्कनै नसक्ने गरी युद्धमा फस्न सक्छ।’

आफ्नो अन्तिम ट्वीटमा उनी लेख्छन्‚ ‘म दोहोर्‍याएर भन्छु‚ मेरो सरकारले मोदीको पाकिस्तानविरोधी षड्यन्त्रको भण्डाफोर गरिरहनेछ। अन्तर्राष्ट्रिय समुदायले पनि भारतको विवेकहीन सैन्य एजेन्डालाई रोक्नुपर्छ। अन्यथा‚ मोदी सरकारले सिंगो क्षेत्रलाई निस्कनै नसक्ने गरी विवादमा धकेलिदिनेछ।’

बोल्यो रिपब्लिक टिभी 

उक्त च्याटलाई लिएर अहिले भारतमै पनि चर्को बहस चलिरहेको छ। खासगरी प्रतिपक्षी कांग्रेसले च्याटमाथि प्रश्न उठाउँदै मोदी सरकारलाई तारो बनाएको छ।

च्याट सार्वजनिक भएको तीन दिनपछि प्रतिक्रिया दिँदै रिपब्लिक टिभीले भनेको छ‚ ‘हामीमाथि लागेका आरोपहरू खारेज गर्छौं। रिपब्लिक टिभीका प्रधानसम्पादक अर्णव गोस्वामीले पछिल्लो १५ वर्षदेखि पाकिस्तान तथा आइएसआईको षड्यन्त्रलाई पर्दाफास गर्दै आएका छन्।’

प्रतिपक्षी कांग्रेसले उठाएको प्रश्नमा टिप्पणी गर्दै रिपब्लिक टिभी भन्छ‚ ‘कांग्रेसले पाकिस्तान सरकारको रुपमा काम गर्न बन्द गर्नुपर्छ।’

उक्त विवादास्पद च्याटबारे प्रहरीले अनुसन्धान गरिराखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.