|

सिमरा : इन्डियन आयल निगमले आन्तरिक सुरक्षा कारण देखाउँदै ३ दशकदेखि सञ्चालनमा रहेको रक्सोल डिपो भोलिदेखि बन्द गर्ने भएको छ। 

पेट्रोलियम सुरक्षासम्बन्धी भारतीय सरकारी निकायको निर्देशनमा इन्डियन आयल निगमले रक्सोलबाट नेपालतर्फ ढुवानी हुँदै आएको डिजेल र पेट्रोल बन्द गर्ने भएको हो।

पछिल्लो समय नेपाल भारत सीमा क्षेत्र रक्सोलमा घनाबस्ती विस्तार हुँदै गएपछि पेट्रोलियम डिपो असुरक्षित हुने र जुनसुकै समय ठूलो दुर्घटना हुन सक्ने भन्दै डिपो बन्द गर्न लागिएको जनाइएको छ। 

‘यो हाम्रो कारणले नभएर आन्तरिक सुरक्षा कारण इन्डियन आयल निगमले बन्द गर्न लागेको हो’, आयल निगम अम्लेखगञ्ज डिपो प्रादेशिक प्रमुख भरत रेग्मीले भने, ‘रक्सोल डिपो करिब ३० वर्षअघि नेपालमा पेट्रोलियम ढुवानी सहज होस् भन्नका लागि शुरु भएको हो।’ 

रक्सोल डिपोबाट दैनिक ७० देखि ८० ट्यांकर डिजेल र २५ ट्यांकर पेट्रोल आयात हुँदै आएको छ। नेपाल भारत सीमामा रहेको रक्सोल डिपो बस्तीको बीचमा रहेका कारण जुनसुकै बेला पनि ठूलो दुर्घटना हुन सक्ने भन्दै बन्द गर्न लागिएको रेग्मीले जनाएका छन्।

८ वर्षअघि रक्सोल डिपोमा आगलागी भएपछि भारतीय पेट्रोलियम सुरक्षासम्बन्धी निकायले प्राविधिक अध्ययन गरेर रक्सोल डिपो सुरक्षित नभएको भन्दै बन्द गर्न निर्देशन दिएको थियो।

‘इन्डियन आयल निगमले २ वर्षअघि नै बन्द गर्न खोजेको थियो, त्यो त हाम्रो अनुरोधमा आजसम्म सञ्चालन भएको हो,’ प्रमुख रेग्मीले भने।

इन्डियन आयल निगमले रेलको माध्यमबाट रक्सोल डिपोमा पेट्रोलियम पदार्थ भण्डारण गर्दै आएको छ। यसअघि जनवरी १५ मा रेल मार्फत रक्सोलमा भण्डारण भएको पेट्रोल भोलि सकिँदैछ भने डिजेल थप २ दिनपछि सकिएलगत्तै हवाई इन्धनबाहेक अन्य पूर्ण रुपमा बन्द हुने निगमले जनाएको छ। रक्सोल डिपो बन्द भएलगत्तै पेट्रोल पूर्ण रुपमा बरौनीबाट ढुवानी गर्नुपर्नेछ भने डिजेल पाइपलाइनबाट मात्रै आयात हुनेछ। 

‘बरौनी र पाइपलाइनबाट आयात हुने डिजेल र पेट्रोल नपुग भए पूर्वको सिलगुढीबाट थप आयात गर्ने सहमति भएको छ,’ रेग्मीले भने। हाल पाइपलाइनबाट प्रतिघन्टा साढे २ लाख लिटर डिजेल आउने निगमले जनाएको छ।

पाइपलाइनबाटै डिजेल आयात भए पनि निगमले दैनिक १५ लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल ट्यांकरबाट ढुवानी गर्दै आएको छ। रक्सोलबाट आयात हुँदै आएको पेट्रोल भोलिदेखि बरौनीबाट आयात गर्दा ढुवानी भाडा भने बढ्नेछ।

अम्लेखगञ्जदेखि रक्सोल करिब ३६ किलोमिटर छ भने बरौनी २ सय ५० किलोमिटर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.