भएका मेसिन थोत्रिए, व्यवस्थित गर्ने सुरसार नै छैन

|

काठमाडौं : आगामी आइतबार (माघ ११ गते) नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको एक वर्ष पुग्छ। चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा संक्रमण पुष्टि भएको थियो।

संक्रमित पुरुषको स्याम्पल लिएर परीक्षण गर्न तीन दिनपछि हङकङ पठाइएको थियो। त्यसको केही दिनपछि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी चीनबाट आएको पुरुषमा कोरोना संक्रमण भएको जानकारी गराएको थियो।

पहिलोपटक कोरोना परीक्षणको लागि स्वाब संकलन गरी हङकङ पठाएको झन्डै एक वर्ष पुग्‍न लाग्दा बेलायतबाट आएका ६ जना नेपालीको स्वाब पुन: हङकङ पठाउनुपर्‍यो। कोरोना भाइरसको दोस्रो स्ट्रेन अर्थात सार्स कोभिड-२ संक्रमित उनीहरूको स्वाब परीक्षण गर्न नेपालमा सम्भव भएन।

ती नेपालीहरू पुसको दोस्रो साता बेलायतबाट आएका थिए र उनीहरूमा कोरोनाको नयाँ भेरियन्टले निम्त्याउने मिल्दोजुल्दो लक्षण देखिएको थियो। पुस २७ गते उनीहरूको स्वाब हङकङ पठाइएकोमा तीन जनामा भाइरसको नयाँ भेरियन्ट संक्रमण भएको थाहा लाग्यो। 

नेपालमा कोरोनाको पहिलो मामिला फेला परेको वर्ष दिन पुग्दै गर्दा नयाँ प्रविधिबाट भाइरसको परीक्षण गर्ने कुनै प्रविधि नभित्रिएको पछिल्लो घटनाले पुष्टि गरेको छ। परीक्षण गर्ने भरपर्दो मेसिन व्यवस्था गर्न नसकेको सरकारले नयाँ संक्रमणका अधिकांश मामिला जाँच गर्न नमूना विदेशतिरै पठाउने गरेको छ।

यसो गर्दा एकातर्फ परीक्षणबापतको रकम बाहिरिन्छ भने अर्कातर्फ लामो समय लाग्ने हुनाले समस्या एकीन गर्न पनि समस्या पर्छ।​

'विदेशमा भाइरसका डाटा विश्लेषण गरेर हेर्छन्'

समय-समयमा भाइरसको नयाँ-नयाँ केसहरू आइरहने भएकोले परीक्षण गर्न विदेश पठाइने गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन्। अन्तर्राष्ट्रिय अभ्यासमा अन्य मुलुकले पनि भाइरसका डाटा विश्लेषणका लागि विदेशमा परीक्षण गर्ने गरेको उनले जानकारी दिइन्।

उनले भनिन्‌, ‘नेपालमा भाइरस पत्ता लगाउने प्रयास नभएको पनि होइन, केही हदसम्म यहाँ पनि कोशिस भइरहेको छ, पहिलोपटक देखिएको संक्रमितको स्वाब हङकङमा  लगेर पहिचान गरेपछि यहाँ पनि निरन्तर पहिचान गरिरहेका छौँ।’

नेपालमा धेरै विज्ञता र विश्व स्वास्थ्य संगठनको मान्यता पाएका प्रयोगशाला नभएकाले पनि उतै लाने गरिएको डा. झाले बताइन्। एक पटक पठाएपछि बारम्बार परीक्षणको लागि पठाउनु नपर्ने उनको दाबी छ।

नयाँ रोग र भाइरसको आशंका पर्याप्त हुँदा पनि परीक्षण गर्न प्रयोगशाला नहुँदा यस्तो अवस्था आउने गरेको उनले बताइन्‌। हङकङमा लगेर परीक्षण गरिएको भाइरस नयाँ खालको भाइरस नभएको उनको दाबी छ।

डा. झा भन्छिन्, ‘कोरोना भाइरस नयाँ हो, यो त्यही भाइरस हो : जसले आफ्नो स्वरुप परिवर्तन गरी देखिएको हो, कोरोनाबाट सुरक्षित रहन जसरी जनस्वास्थ्यका मापदण्ड पालना गरिएको थियो, अब पनि सोहीअनुसार सावधानी अपनाउनुपर्छ।’

'यहाँका प्रयोगशालामा मेसिन मजबुत छैनन्‌'

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारी भन्छन, ‘नयाँ रोग पत्ता लगाउन नेपालमा मजबुत खालका प्राविधिक मेसिन पनि छैन। केही मेसिन त छन्। प्रयोगशालामा भएका पुराना र काम नलाग्ने मेसिनले उपलब्धिमूलक परिणाम नदिने भएकोले केही आशंका लागेमा निश्चित गर्न विदेश पठाउने गरिएको हो।’

कोभिड महामारी शुरू भएपछि सरकारले नयाँ रोगजन्य भाइरस पत्ता लगाउन विभिन्न अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको उनले जानकारी दिए। उनले भने, ‘प्रयोगशालामा नयाँ मेसिन थप्न सरकारले पहल गरिसकेको छ। अहिले भएका मेसिनले पनि काम गर्छन्। तर अपेक्षा गरेबमोजिम काम नगर्दा विदेश पठाउनु परेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.