पर्वत : ‘हाम्लाई कहिल्यै नलागोस् रोग,
काम पाइएछ भ’को छ सहयोग ।
खुसी लाग्छ कममा रमाउँदा,
दुःख गरी पसिना चुहाउँदा,
यसैबाट घरबार चलाउँदा !!’
पर्वतको महाशीला गाउँपालिकाकी ४५ वर्षीया टुककुमारी नेपाली घनले ढुङ्गा फुटाउँदै छिन्। नाली खन्ने, सडकमा सोलिङ गर्ने लगायतका काम गरिरहँदा साथीहरूलाई गीत गाउँदै सुनाएर उनले कामलाई सजिलो बनाउँछिन्। गल र गैँची चलाउँदा थकाई लागेपनि त्यसबाट आएको पारिश्रमिकले परिवार चलाउन पाउँदा उनलाई खुसी लागेको छ।
सोही ठाउँकी ३२ वर्षीया गोलमाया सुनारले अहिलेसम्म महिलाले घन र झ्याम्पल हान्ने काम गरेको देखेकी थिइनन्। तर, काम गर्ने समूहमा घन ठटाउने काममा दक्ष मानिने सुनारलाई आँटले नै आम्दानीको स्रोत दिएको छ।
‘शुरूमा कठिन होला जस्तो लागेको थियो, तर आँटले म गर्छु भनेपछि सकिने रहेछ, महिलाले घन र झ्याम्पल हानेको पहिलो देखेको थिइनँ, तर आफैँले गर्नुपरेको छ अहिले,’ उनले भनिन्, ‘बेरोजगार भएर बस्नुभन्दा कमाई भएको छ, गरी खान पाइएको छ, अब १५ दिन मात्र होइन - महिनै भरि काम पाउन पाए हुने हो, घरमा सबै थोक बेसाउनु परेको छ।’
टुककुमारी र गोलकुमारी जस्तै महाशीलाका धेरै जना महिलाहरू यति बेला गाउँपालिकाका विभिन्न वडामा यस्तै काम गर्न जुटिरहेका छन्। ‘एक घर : १ रोजगारी’ अभियान अन्तर्गत शुरू भएको महाशीला विकास स्वयंसेवक कार्यक्रममा आबद्ध भएर ती महिलाहरूले काम गरिरहेको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै बताउँछन्।
उनका अनुसार स्थानीयको तहको निर्वाचनको बेलामा घोषणापत्रमा बेरोजगारीलाई रोजगारीको अवसर दिइने भनिएपछि त्यसको अध्ययनको क्रममा १२ सय घरमा रोजगारी दिनुपर्ने देखिएको थियो। सोही अनुसार गरिएको विज्ञापनमा ६ सय जनाले आवेदन गरेकोमा ४ सय ९२ जना छनोट भएका थिए। उनीहरूलाई शिक्षा, कृषि, पशु, निर्माण, खानेपानी, गाउँ रक्षक लगायतका १२ प्रकारका काममा सीप र योग्यता अनुसार काममा लगाइएको हो।
छनोट भएकामध्ये ७० प्रतिशतको आवेदन निर्माण क्षेत्रमा परेको थियो। छनोटमा परेकामध्ये ८५ प्रतिशत महिला थिए भने त्यसमा पनि अधिकांश दलित समुदायका। अहिले निर्माणको काममा जुटिरहेका उनीहरूले पुरुष समान नै श्रम गर्न सकेको प्रवक्ता उचैले बताए।
‘बल लगाउनुपर्ने काम महिलाले गर्न सक्दैनन् भन्ने सुनेको हो, तर यहाँ आएर उहाँहरूको काम हेर्नेहरू दङ्ग पर्नुहुन्छ, उहाँहरूले गल, घन र गैँची गज्जबले चलाउनुहुन्छ,’ उनले भने, ‘गाउँपालिकाको गौरवको आयोजनाका रूपमा यसलाई अगाडि बढाइएको थियो, यसले धेरै श्रमिकहरूको मनमा खुसी दिएको छ। यहीँका मान्छेले श्रम गर्दा यहाँको पैसा गाउँमा नै अडिएको छ।’
कामको सिलसिलामा चाक्लीपाताल भन्ने स्थानमा ढुङ्गा फुटाइरहेकी ४५ वर्षीया खैसरा विकले गाउँपालिकाले रोजगारी दिएपछि मजदुरी गर्न काम खोज्दै अन्यत्र जान नपरेको सुनाइन्। घरमा कान्छा छोराको साथमा बस्दै आएका उनका श्रीमान् शारीरिक रूपमा काम गर्न नसक्ने भएका कारण ३ जनाको परिवार पाल्नै आधार नै यही काम बनेको खैसराले बताइन्।
‘यहाँबाट महिनामा छ हजार रुपैयाँ भए पनि कमाई भएको छ, बुढेसकालमा काम खोज्दै अब म कहाँ जाऊँ?’ उनले भनिन्, ‘घरमा शरीर चलाउनै नसक्ने श्रीमान् हुनुहुन्छ, छोरो नि घरमै छ, परिवार पाल्न यही काम गरेको छु, यो काम सधैँ गर्न पाए हुने हो।’ १५ वर्षदेखि यसरी नै जीविका चलाउन बाध्य भएकी उनको परिवारमा महिनामा कमाएको आठ हजार रुपैयाँ घरखर्चमै सकिन्छ।
प्रवक्ता उचैका अनुसार यो कार्यक्रमको लागि छनोट भएका ४ सय ९२ जनाका लागि १ महिना तालिम दिइएको थियो। उनीहरूका लागि शारीरिक सुगठन, आत्मानुशासन, शारीरिक सुस्वास्थ्य, उद्दार लगायतका १२ ओटा क्षेत्रमा तालिम दिएर काम लगाइएको थियो।
यो कार्यक्रमका लागि गाउँपालिकाले यस वर्ष १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कार्यक्रममा सहभागी भएकाहरू बिहान १० बजेदेखि साँझ ४ बजेसम्म काममा सहभागी हुन्छन्।
उनीहरू १ महिनामा १५ दिन गाउँपालिकाको स्वयंसेवक कार्यक्रममा सहभागी हुन्छन् भने बाँकी रहेका १५ दिन घरका काम गर्छन्। घरका काम गर्दा पनि उनीहरूलाई सकेसम्म व्यावसायिक र उद्यमशीलतामा जोड्ने गरी काममा लाग्न प्रोत्साहन गरिएको गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेलले बताए।
‘गाउँपालिकाको काम गरेर बाँकी रहेको १५ दिनलाई घरमा खर्चिन भनेका छौँ, त्यो काम गर्दा पनि व्यवसायसँग जोडिएर गर्न भनिएको छ,’ उनले भने, ‘गाउँपालिकाले उत्पादन महाअभियानमा जोड्ने गरी काम गरिरहेको छ, घरका साना कामलाई पनि उद्यमशीलतामा जोड्न उहाँहरूलाई प्रोत्साहन गरिरहेका छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।