विचार

मानिसभित्रको आसुरी भाव हटाउन होली
SHARES

फागुन २९, २०७३

    हिरण्यकश्यपु, महर्षि कश्यप र दीतिका पुत्र तर आसुरी स्वरूपका प्रतीक। कठोर तपस्याबाट खुशी भएर ब्रह्माजीले हिरण्यकश्यपु(हिरण्यकश्यप) लाई वरदान दिए, ‘मानव, पशु वा कुनै  शस्त्र अस्त्रले तिमीलाई मार्न सक्ने छैन। दिनमा वा रातमा, घरभित्र वा घरबाहिर कुनै पनि स्थानमा तिमी मर्ने छैनौ।’

    ब्रह्माजीबाट वरदान पाएपछि हिरण्यकश्यपुमा अहंकार बढ्यो। स्वर्गसमेत खोसी तीनै लोकमा राज्य गरी अत्याचार फैलाउन थाले। दरबारमा मात्र नभई राज्यमै सुर (भगवान्)को नाम लिन नहुने भयो। झन् विष्णुको नाम त सुन्नै नसक्ने।

    हिरण्यकश्यपुका पुत्र प्रह्लाद शान्त प्रकृतिका, सुर प्रवृत्तिका। भगवान् विष्णुका परम भक्त। पिताले अनेक तरहले सम्झाउँदा पनि विष्णुको आराधना गर्न नछोड्ने। उनैको नाम जपेर बस्ने। केही सिप नलागेपछि हिरण्यकश्यपुले छोरालाई मार्ने योजना बनाए। डरलाग्दो भीरबाट खसाल्नेदेखि हात्तीले कुल्चिनेसम्मका कामबाट प्रह्लादको मृत्यु नभएपछि अन्तिम एक मात्र विकल्प बाँकी थिइन्, हिरण्यकश्यपुकै बहिनी होलिका।

    ‘होलिका’को नामबाट होली

    होलिकालाई भगवान् शिवले ‘अग्निले दहन गर्न नसक्ने’ वरदान दिएका थिए। अग्निको तेज सहन गर्न सक्ने क्षमताकै कारण प्रह्लादलाई काखमा लिएर अग्निमा बस्ने र उनलाई मार्ने योजना बनाइयो। तर जब प्रहलादलाई लिएर होलिका आगोमा बसिन्, अग्निको तेज सहन गर्ने क्षमता प्रह्लादमा सर्यो होलिका भने अग्निद्वारा भष्म भइन्। 

    श्रीमद्भागवत, विष्णुलगायत महापुराणमा आउने कथा हो यो। यही कथा फाल्गुण शुक्ल पूूर्णिमामा मनाइने फागु वा होली पर्वसँग जोडिएको छ। होलिका दहन भएकै खुशीयालीमा प्रह्लादका साथी तथा शुभचिन्तकले होली खेल्न थालेको विश्वास गरिन्छ। 

    यसैगरी द्वापरयुगमा भगवान् कृष्णले बाल्यकालमा आफूलाई मार्न आएकी पुतनाको स्तन चुसेर मारिदिएपछि खुशीयालीमा गोकुलवासीले फागु मनाएको बताइन्छ। किशोर अवस्थामा कृष्णले गरेका चीरहरण जस्ता लीलालाई पनि फागुकै प्रतीक मानिएको छ। 

    इतिहासमा होली

    संस्कृतका विभिन्न ग्रन्थमा अन्नको होम गरी त्यसबाट तयार भएको भष्म लगाएर होली मनाइने विधान छ। वात्स्यायनले ‘कामसूत्र’मा होलाक नामले यो पर्वको उल्लेख गरेका छन्। विभिन्न प्रकारका फूलको रंग, चन्दन, कुंकुम आदि प्रयोग गरी होली खेलिने परम्परा रहेको बुझिन्छ। जैमिनी मीमांसा दर्शनकारले आफ्नो ग्रन्थमा ‘होलिकाधिकरण’ नामक प्रकरणको उल्लेख गरेका छन्।

    भारतको विन्ध्याचल प्रदेशअन्तर्गत रामगढ नामक स्थानमा ईशापूर्व ३०० वर्षको एक शिलालेख फागु पूर्णिमाबारेमा उल्लेख भएको इतिहासकारहरूले लेखेका छन्। एघारौं शताब्दीका मुस्लिम पर्यटकहरूले आफ्नो यात्रा वर्णनमा भारतमा मनाइने होलीको उल्लेख गरेका छन्।

    हिन्दु सनातन समाजमा हरेक वर्ष फाल्गुण शुक्ल अष्टमीमा फागु अर्थात् होली आरम्भ हुन्छ। रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सबैको अनुकुल हुने ठाउँमा ठड्याइन्छ। अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ पनि भनिन्छ। ठाउँअनुसार होली, फागु, होरी, होलिकोत्सव आदि नामले यो पर्व मनाइन्छ।

    हिन्दु सनातन समाजमा हरेक वर्ष फाल्गुण शुक्ल अष्टमीमा फागु अर्थात् होली आरम्भ हुन्छ। रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सबैको अनुकुल हुने ठाउँमा ठड्याइन्छ। अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ पनि भनिन्छ। ठाउँअनुसार होली, फागु, होरी, होलिकोत्सव आदि नामले यो पर्व मनाइन्छ।

    कसैको होली, कसैको फागु

    काठमाडौंको कुरा गर्ने हो भने शुभसाइतमा जंगलबाट काटेर ल्याइएको रुख तासेर ध्वजा पताकाले सिंगारी वसन्तपुरमा ‘चिरोत्थान’ गरिन्छ। फागूपूर्णिमाका दिन उत्सव मनाएपछि रातमा चीर दहन गरी लिंगो ढालिन्छ। 

    ठाउँअनुसार आफ्नै किसिमले मनाइन्छ, फागु। नेपालको पहाडी भेगमा भन्दा तराईमा फागुको रौनक बढी हुन्छ। रंग दल्ने र पानी छ्याप्ने यो पर्वको मुख्य आकर्षण हो। तराई मधेशमा फागुसम्बन्धी लोकगीतको रौनक हुन्छ। यस्तै होलीमा बनाइने विभिन्न स्थानीय परिकारले पनि यो पर्वको महत्त्व बढाएको हुन्छ।

    पहाडी भेगमा सामान्य अविर वा सिन्दुरको टीका लगाएर\लगाइदिएर फागु मनाउने चलन छ। काठमाडौलगायत शहरी क्षेत्रमा बेलुन प्लाष्टिकमा पानी भरेर लोला हान्ने र अनेक प्रकारका रंग आफू दल्ने अरुलाई पनि जबरजस्ती दलिदिने विकृति छ। होली आउनु एक साताभन्दा अघिदेखि इच्छाविपरीत लोला हान्ने, लोलामा फोहोर पानी प्रयोग गर्ने, रंगहरू दल्ने चलन गत वर्षदेखि अलि कम हुन थालेको छ। 

    किन मनाइएको होला होली ?

    वसन्त ऋतुको समय। रुखहरूमा पालुवा पलाउने रंगीचंगी फूलहरू फुल्ने बेला। वसन्त ऋतु प्रेमको महिना। पे्रमी र प्रेमिकामा प्रेम भाव उत्पन्न हुने बेला। वरिपरिको वातावरणले श्रृंगारिक भाव पैदा गर्ने बेला। एक किसिमले प्रकृतिले नै होली मनाइरहेको हुन्छ। त्यसमा मानिसजस्तो चेतनशील प्राणी कसरी अछूतो रहनसक्ला र! अर्कोतिर चान्द्रमान (शालिवाहनीय शाके) को पात्रोअनुसार नयाँ वर्ष लाग्ने बेला।

    होलीमा लगाइने वा छ्यापिने रंगका बेग्लाबेग्लै महत्व छ। प्रकृतिमा भएका सबै रंगहरूको प्रतीक हो होलीमा लगाइने रंग। पहिले पहिले प्रकृतिबाटै प्राप्त हुने रंगहरूबाट होली खेलिन्थ्यो। वनस्पति वा फूलबाट रंग बनाएर प्रयोग गरिन्थ्यो। हिजोआज होलीमा प्रयोग हुने विभिन्न रासायनिक रंगले मानिसको स्वास्थ्यमा हानि पुर्‍याउने पक्षलाई विचार गरिएकै छैन।

    होलीमा लगाइने वा छ्यापिने रंगका बेग्लाबेग्लै महत्व छ। प्रकृतिमा भएका सबै रंगहरूको प्रतीक हो होलीमा लगाइने रंग। पहिले पहिले प्रकृतिबाटै प्राप्त हुने रंगहरूबाट होली खेलिन्थ्यो। वनस्पति वा फूलबाट रंग बनाएर प्रयोग गरिन्थ्यो। हिजोआज होलीमा प्रयोग हुने विभिन्न रासायनिक रंगले मानिसको स्वास्थ्यमा हानि पुर्‍याउने पक्षलाई विचार गरिएकै छैन।

    होलीको सन्देश

    फागु अर्थात् होलीको सुरुआत नै राक्षसी प्रवृत्तिको अन्य गरी दैवी भाव सञ्चार गर्न भएको हो। देवता सात्विकताका प्रतीक। दानव तामसी स्वभावका प्रतीक। मानिसभित्रको तामसी भावलाई अन्त्य गरी सात्विक भाव उत्पन्न गर्ने सन्देश फागु पर्वले दिइरहेको हुन्छ। इच्छाविपरीत रंग दल्ने वा फोहोर पदार्थ पानी राखेर छ्याप्नेजस्ता काम आसुरी भावका प्रतीक हुन्। 

    होली त मानिस मानिसबीच सद्भाव र एकता कायम राख्नका लागि मनाइने हो। सामाजिक सम्बन्धलाई नविकरण गर्ने र मजबुत बनाउने अवसर हो। त्यसैले होलीको महत्त्व बुझौं आफूमा कहिँ कतै आसुरी भाव छ भने हटाऔं। सात्विक भावको विकास गरौं। होलीले यही सन्देश दिइरहेको छ।

     


     

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]