|

दाङ : कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गरेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमलपोखरी अहिले उचित संरक्षणको पर्खाइमा छ। पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण पोखरीको संरक्षण नहुँदा अस्तित्व नै सङ्कटमा पर्न लागेको छ।

पोखरीको संरक्षणका लागि आफूहरुले पटकपटक स्थानीय सरकारलार्ई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको स्थानीयवासी बताउँछन्। 'तुलसीपुर उपमहानरपालिका वडा नं ६ वडा कार्यालयले पोखरीको संरक्षणका लागि दुई वर्ष पहिले गुरुयोजना बनाएको भनी सुनेका थियौँ, अहिलेसम्म कुनै निर्माणको काम भएको छैन', स्थानीयवासी पुष्पा चौधरीले गुनासो गरिन्‌। 

विगतमा पोखरी क्षेत्रमा घुम्नका लागि तुलसीपुर बजारसहित टाढाटाढाबाट पनि मानिस आउँथे। पोखरीमा कमलको फूल फुल्थ्यो। कमल हेर्न र टिप्नका लागि गाउँगाउँबाट मानिस आउँथे। पोखरीको संरक्षण तथा पूर्वाधार कमजोर रहेकाले यसलाई पर्यटकीय रुपमा विकास गर्नुपर्ने सुझाव दिएर फर्कन्थे। 'अहिले ताल सबै पुरिन लागिसक्यो, मानिसहरु पनि घुम्न आउँदैन्', स्थानीयवासी ज्ञानसिंह चौधरीले भने।

तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा रजौरा गाउँबाट करीब ५०० मिटर पश्चिममा पर्ने सो पोखरी करीब एक बिघा क्षेत्रफलमा रहे पनि अहिले साँघुरो हुनाका साथै धेरै भाग पुरिँदै गएको तथा जलकुम्भी झारले समेत ढाकेको छ। पहिले साढे पाँच फिट गहिरो रहेको पोखरी अहिले एक फिट जति मात्र गहिरो हुनाका साथै पानी पनि सुक्न थालेको छ।

झण्डै ९० वर्ष पहिले निर्मित कमलपोखरीको संरक्षण स्थानीयवासीले गर्दै आएका छन्। बजेट अभावका कारण पोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न भने तिनले सकेका छैनन्।

पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका तुलसीपुर–६ रजौरा निवासी ७५ वर्षीय गोविन्दप्रसाद रजौरेले पोखरीको उचित संरक्षण गरी पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताए।

उनी भन्छन्‌, 'तुलसीपुर बजार क्षेत्रमा यस्तो ताल कहीँ छैन, यसको संरक्षण तथा पूर्वाधार निर्माण गर्ने सके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ', उनी थप्छन्‌, 'यति पुरानो पोखरीको गाउँलेले संरक्षण गरेर राखेका थियौँ, तर सरकारी निकायबाट खासै पहल गरिएको छैन। अब त अस्तित्व नै मेटिन्छ कि भन्ने चिन्ता बढेको छ।'

सोही ठाउँ निवासी ३८ वर्षीया राधा न्यौपानेले पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीय सरकारसँग माग गरिन्। उनी भन्छिन्‌, 'झण्डै शताब्दी पुरानो इतिहास बोकेको पोखरीको संरक्षण नहुँदा अहिले त्यस क्षेत्रको जग्गा अतिक्रमण हुने डर रहेको छ।'

तुलसीपुर–६ रजौरे निवासी ४८ वर्षीय डिल्लीराज रजौरेले पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, वनभोज, जलविहार तथा जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेरिने प्रशस्त सम्भावना रहे पनि अहिले तालको अवस्था देख्दा आफू निकै चिन्तित भएको बताए।

नागरिकको अथक श्रमदानले संरक्षण गरी लामो समयदेखि बचाइ राखिएको पोखरीको अस्तित्व जोगाउन सरकारले सहयोग गर्नुपर्ने सुझाव स्थानीयवासी रोमहर्ष रजौरे दिन्छन्‌। उनका अनुसार पोखरीको संरक्षण गरी आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, सुरक्षाका लागि पोखरी छेउछेउमा पर्खाल लगाउने, पर्यटकलाई पोखरी नजिकै बस्नका लागि छहारी निर्माण गर्ने तथा पुरिएको पोखरी उत्खनन गरी डुङ्गा व्यवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने ठूलो सम्भावना छ। 

तुलसीपुर–६ का वडाध्यक्ष नवराज लामिछानेले कमलपोखरीको उचित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आफूले वडाबाट दुई वर्षअघि गुरुयोजना निर्माण गरे पनि बजेट अभावका कारण कार्यान्वयन गर्न नसकेको बताए। वडाध्यक्ष लामिछानेले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको र अहिले पर्यटन क्षेत्रको विकासका लागि बजेट नभएकाले काम बढ्न नसकेको जानकारी दिए। उनका अनुसार उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारसँग बजेट माग गरिएको छ।​

रजौराबासीले रजौरा, गोलौरा, डुम्री गाउँलगायत गाउँका गाईवस्तुलाई गर्मी याममा पानी खुवाउन आफैँ श्रमदान गरी खाडल खनेर मानव निर्मित जल भण्डार बनाएका थिए। सो समयमा पानीको अभाव भएपछि गाउँलेले नुहाउन, कपडा धुन र भाँडाकुँडा सफा गर्न सोही पानी प्रयोग गर्ने गरेको थारु अगुवा सीताराम चौधरीले बताए। 'त्यसैलाई पछि पोखरीमा परिणत गरिएको हो', चौधरीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.