|

मोरङ : भन्सार छलेर ल्याएको डिजेल सहित २ जनालाई पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका-११ स्थित केशलिया सडकबाट सिटी रिक्सा र ४ वटा मोटरसाइकलमा बिना बिल अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ हजार १ सय लिटर डिजेल सहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा को.२ स १८०७ नम्बरको सिटी रिक्साका चालक विराटनगर महानगरपालिका-११ बस्ने ४५ वर्षीय नरेश सहनीलाई करिब ४ सय लिटर र बा.१६ प ३७०२ नम्बरको मोटरसाइकलका चालक सुनसरी साहेबगंज बस्ने १८ वर्षीय किशोरलाई करिब १ सय ७५ लिटर डिजेल सहित प्रहरीले पक्राउ गरेको हो। साथै को.३ प ३३६१ नम्बर, को.२ प २४३० नम्बर र को.५ प ८८६७ नम्बरको मोटरसाइकलबाट जम्मा ५ सय २५ लिटर डिजेल समेत प्रहरीले बरामद गरेको छ।

हाल फरार ३ जना मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। पक्राउ परेका व्यक्ति तथा सवारी साधनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.