|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट भएको आरोप लगाएका छन्। आदिवासी जनजाति  महासंघको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले ओली समूह चेइटिएर गएको र प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्। ‘नेपाल कम्युनिस्ट पार्टी हामी हौँ। ओली फुटेर गएको चोइटा हो। रुखबाट पनि केही चोइटा जान्छ,’ उनले भने, ‘ओलीको प्रत्येक निर्णय संविधान र कानुनमा हुनुपर्छ। तर, उनले संविधान मिचेर अघि बढ्न खोजे।’ 

नेता खनालले नेकपाभित्र ओलीतन्त्र चल्न थालेपछि समस्या भएको आरोप लगाएका छन्।  ‘पार्टीभित्र ओलीतन्त्र चल्न थालेपछि समस्या भइरह्यो। उहाँकै कारणले पार्टी विधि र विधान विपरित चल्न थालेपछि अन्तरसंघर्ष सुरु भएको थियो,’ उनले भने, ‘कम्युनिस्ट पार्टीमा बहस र विवाद हुनु स्वभाविक हो। अरु पार्टीभित्र पनि बहस विवाद हुन्छ।’  

नेता खनालले ओली असक्षम र निरङ्कुश नेताको रुपमा परिचित भइसकेको दाबी गरे। ‘केपी ओली असक्षम नेता ठहरिसके, उनले संविधानलाई निमोठेर मात्रै काम गरे,’ उनले भने, ‘ओलीको कदम असंवैधानिक मात्रै नभएर अलोकतान्त्रिक पनि हो।’ 

उनले प्रधानमन्त्री ओलीको कदमले नेपालमा अस्थिरता फर्कने चिन्ता भएको बताए। यस्तै, ओली प्रतिक्रियावादीहरुको एजेन्ट, प्रतिक्रान्तिको नायक भएको आरोप लगाए। ओलीले गुटबन्दी गरेर पार्टी फुटाउन खोजेको समेत आरोप लगाए। 

नेता खनालले केन्द्रीय कमिटीको बैठकले बहुमतका साथ निर्णय गरेको भएकाले आधिकारिक नेकपा आफूहरु भएको जिकिर गरे। उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ। सबै प्रदेश र जिल्ला कमिटीमा ९५ प्रतिशतभन्दा धेरै बहुमत छ।’

उनले आफ्नो पक्षमा प्रतिनिधिसभा विघटनको मुद्दामा आफ्नो पक्षमा निर्णय आउने बताए। ‘अहिले मुद्दाहरु निर्वाचन आयोग र सर्वोच्च अदालतमा छन्। उहाँहरुले आफ्नो विवेक र हुकुम हेरेर निर्णय गर्ने होइन। संविधानलाई हेरेर गर्ने हो,’ खनालले भने, ‘संविधानको धारालाई टेकेर आयोग र अदालतले निर्णय गर्नुपर्छ। त्यसकै कारणले हाम्रो पक्षमा निर्णय आउने पक्का छ।’ 

ओलीको कदम विरुद्ध सडक आन्दोलनमा गरिरहेको बताए। ओलीको असंवैधानिक कदम जनताको बिषय पनि भएकाले जनआन्दोलन चलाएको बताए।  

‘संविधानको रक्षा गर्ने काम सबैको काँधमा आएको छ। पार्टी पार्टीको केन्द्रीय कार्यभार पनि यही हो,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.