|

भोजपुर : प्रतिनिधिसभा विघटनपछि सरकारले म्यावधि निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ।

 कार्यालयले  सम्भावित मतदानस्थल र केन्द्र हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्चाउने काम सुरु गरेको हो। निर्वाचनको मिति तोकिएपछि स्थानीय तह प्रमुखहरुसँग कार्यालयले छलफल तीव्र पारेको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न स्थानीय तहमा रहेका फेरबदल गर्नुपर्ने मतदानस्थल तथा मतदान केन्द्र छनोटसमेत गरेको छ। 

बैठकले षडानन्द नगरपालिका–२ साविककोे गाविस भवनमा रहेको मतदान स्थललाई परिर्वतन गरेर सावित्री माध्यमिक विद्यालय कुदाकाउलेमा कायम गर्ने निर्णय गरेको छ। 

त्यस्तै सोही नगरपालिका–६ जनकल्याण आधारभूत विद्यालयको कोड नं. ३८४३ स्थललाई हटाएर सरस्वती आधारभूत विद्यालय साल्मा कायम गर्ने भएको छ। 

त्यस्तै अरुण गाउँपालिका– ६ साविकको गाविस भवनमा रहेको मतदान स्थललाई हटाएर नयाँ मतदानस्थलका रुपमा महेन्द्रोदय माध्यमिक विद्यालय जरायोटार राख्ने र आमचोक गाउँपालिका– ६ देवानटारको साविकको गाविस भवनमा रहेको कोड नं. ४०७० मतदान केन्द्र हटाएर शिक्षाकन्या माध्यमिक विद्यालय देवानटारलाई कायम गर्ने निर्णय भएको छ। 

त्यस्तै वडा नम्वर ७ मान्द्रे चम्पाला सामुदायिक भवनमा रहेको मतदानस्थललाई परिवर्तन गरेर महिला विकास भवनमा र वडा नम्वर ८ जनजागृति निमावि जरेकोटमा रहेको स्थललाई हटाएर मुक्ति प्राथमिक विद्यालयमा कायम गरिएको निर्वाचन कार्यालय भोजपुरका प्रमुख पवनकुमार रेग्मीले बताए। 

मतदात शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनको भनाइ छ।

जिल्लाभर ८७ मतदान स्थल र १५४ मतदान केन्द्र छन्। यसअघिको  निर्वाचनमा भन्दा ६ वटा मतदान केन्द्र थप भएको कार्यालयले जनाएको छ। अबका दिनमा मतदाता अद्यावधिक काम सुरु गर्ने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.