|

अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले क्यापिटल हिलमा शपथग्रहण गरेका छन्।  ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा चार वर्ष ह्वाइटहाउसमा रहनेछन्। उनी पहिलोपटक १९७२ मा डेलावेरका सिनेटर बनेका थिए। ​

बाइडेनसँगै भारतीय मूलकी कमला ह्यारिसले पनि उपराष्ट्रपतिको रूपमा शपथ लिइन्। कमला अमेरिकी इतिहासमै पहिलो महिलाका रूपमा उपराष्ट्रपति बनेकी छिन्। उनी ४९औँ उपराष्ट्रपति बनिन्।

क्यापिटल हिलमा नेपाली समयअनुसार बुधबार राति १०ः४५ बजे सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले राष्ट्रपति र उपराष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। 

बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएका थिए। सन् १९८३ देखि सो बाइबल बाइडेन परिवारसँगै छ। सन् २००९ र २०१३ मा लगातार दुईपटक उपराष्ट्रतिमा चुनिँदा उनले त्यही बाइबलमाथि हात राख्दै शपथ लिएकका थिए। 

इडेनले शपथपछि कोभिड– १९ बाट ज्यान गुमाएकाप्रति मौनधारण गरेका थिए। राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलाले शपथ समारोहमा सहभागी हुनुअघि चर्चमा प्रार्थना गरेका थिए।

शपथग्रहण कार्यक्रममा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित भएनन्। राष्ट्रपतिको शपथमा सहभागी नहुने उनी चौथो राष्ट्रपति हुन्। राष्ट्रपति तथा उपराष्ट्रपतिको शपथ कार्यक्रममा थोरै पाहुनालाई मात्र निम्तो दिइएको थियो। यसमा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लू बुस, बाराक ओबामा र बिल क्लिन्टन उपस्थित भए। यसैगरी निवर्तमान उपराष्ट्रपति माइक पेन्सले पनि शपथ कार्यक्रममा भाग लिए। 

८० प्रतिशत भर्चुअल कार्यक्रमका रूपमा भएको शपथमा पपस्टार लेडी गागाले राष्ट्रिय गानको प्रस्तुति दिएकी थिइन्। ​ डेमोक्रेटिकबाट निर्वाचित भएका बाइडेनले डोनाल्ड ट्रम्पलाई सर्वाधिक तथा इलेक्टोरल कलेज भोटिङमा पराजित गरेका थिए। अमेरिकामा राष्ट्रपति बन्न कम्तीमा दुई सय ७० इलेक्टोरल भोटिङ आवश्यक पर्छ। बाइडेनले इलेक्टोरल भोटिङमा तीन सय ६ तथा ट्रम्पले दुई सय ३२ इलेक्टोरल कलेज भोटिङ पाएका थिए। यसअघि उनीले १९८७ तथा २००८ को राष्ट्रपति निर्वाचनमा समेत उम्मेदवारी दिएका थिए। त्यसवेला पार्टीबाट आवश्यक समर्थन प्राप्त गर्न नसक्दा उनी राष्ट्रपतिको दौडबाट बाहिरिए। बाराक ओबामा दुईपटक अमेरिकाको राष्ट्रपति हुँदा बाइडेन दुवै अवसरमा उपराष्ट्रपति बने। ओबामाले बाइडेनलाई अहिलेसम्मकै उत्कृष्ट उपराष्ट्रपति भन्ने गर्छन्।

उनले आफ्नो जितलाई लोकतन्त्रको जितका रूपमा लिएका छन्।  ‘यो अमेरिकाको दिन हो, लोकतन्त्रको दिन हो, इतिहास र आशाको दिन हो। अमेरिकाको कैयौँपटक परीक्षा भएको छ र उसले सधैँ चुनौतीको सामना गरेको छ। आज हामी एउटा उम्मेदवारको जितको खुसी मनाएका छैनौँ, बरु लोकतन्त्रका लागि खुसी मनाइरहेका छौँ,’ बाइडेनले भने।  उनले अमेरिकामा शान्तिपूर्ण सत्ता हस्तान्तरणको इतिहास रहेको भन्दै ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको निन्दा गरे। 

उनले अहिलेजस्तो अवस्था अमेरिकाले विश्वयुद्धकालमा समेत नदेखेको बताए। ‘हामी राम्रो मानिस हौँ। हामीले लामो यात्रा तय गर्नु छ। हामीले धेरै गर्नु छ। धेरै बनाउनु छ, धेरै हासिल गर्नु छ।  उनले आफूले शक्तिका बलमा होइन, उदाहरणीय रूपमा सत्ता चलाउने बताए। राष्ट्रपति बाइडेनले शपथपछिको भाषणमा घुमारो रूपमा डोनाल्ड ट्रम्पका समर्थकलाई चिच्याउन बन्द गर्न आग्रह गरे। ‘तपाईंहरू चिच्याउन बन्द गर्नुस् र तापक्रम पनि कम गर्नुस्,’ उनले भने। 

बाइडेनले अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपतिसँगै शपथ लिँदा गौरवान्वित भएको बताए। ‘आज हामी अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपतिसँगै शपथ ग्रहण गर्दछौँ,’ बाइडेनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.