|

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले २०७६ पुसमा रत्नपार्कको शौचालयमा सञ्चालित पसलबारे भनेकी थिइन्‌, ‘सार्वजनिक शौचालयमा पसल सञ्चालन गरिँदा शौच गर्न सर्वसाधारणलाई धेरै समस्या भएको छ, व्यापारीलाई सार्वजनिक पसल सञ्चालन गर्न मात्रै दिइएको हो, पसल सञ्चालन गर्न होइन, त्यस्ता अनाधिकृत पसल हटाउँछौँ।’

तर, एक वर्ष बितिसक्दा पनि त्यहाँ रहेका व्यापारिक पसल महानगरले हटाएको छैन। अनाधिकृत रूपमा सार्वजनिक सम्पत्तिमाथि व्यापारीले रजाइँ गरिरहेका छन्। रत्नपार्क क्षेत्रमा भएका शौचालय सफा नहुँदा र त्यहीँ पसल सञ्चालन गरिँदा शहरबासी मारमा छन्।

'मेयरले पसल हटाउनुको साटो म्याद थपिदिए' : उपप्रमुख श्रेष्ठ

महानगरपालिकाकी उपप्रमुख श्रेष्ठले रत्नपार्कको अनाधिकृत पसल हटाउने पहल गर्दैगर्दा नगर प्रमुख विद्यासुन्दर शाक्यले ठेकेदारलाई म्याद थपिदिएको जानकारी दिइन्‌। उनले भनिन्‌, ‘मैले बोर्डको बैठकमा पटक–पटक शौचालय क्षेत्रको पसल हटाउनुपर्छ भनेर कुरा उठाएँ। तर,मेयरसा'पले उल्टै ठेकेदारलाई म्याद थपिदिनुभएछ।’ 

उनका अनुसार पहिला भएको ठेक्का सम्झौता सकिन लागेपछि प्रमुख शाक्यले भित्रभित्रै सेटिङ मिलाइदिएर म्याद थपिदिएका हुन्‌। अब रत्नपार्कको शौचालयमा रहेका भोजनालय र पसल हट्नुको साटो व्यवसायीले थप रजाइँ गर्ने पक्कापक्की भएको श्रेष्ठले जानकारी दिइन्‌।

​‘शौचालय व्यवस्थित हुन नसक्दा शौच गर्ने शहरबासी सास्ती खेपिरहेका छन्‌,’ उनले भनिन्‌, ‘सार्वजनिक शौचालयमा त्यसरी पसल राख्ने नै होइन, मैले हटाउन जति पहल गरेपनि मेयरको बहुमत बढी भएपछि केही लागेन।’

व्यापारीसँग नाम मात्रैको सम्झौता

काठमाडौं महानगरपालिका र सिन्धुलीका माधवप्रसाद काफ्लेबीच शहरी सेवा केन्द्र (रत्नपार्क)को आय संकलन (ठेक्का बन्दोबस्त) सम्झौता छ।

काठमाडौं महानगरपालिका (प्रथम पक्ष) र माधवप्रसाद काफ्ले (दोस्रो पक्ष) बीच २०७३ साल भदौ १ गते पाँच वर्षको लागि भएको सम्झौतापत्रमा लेखिएको छ : दोस्रो पक्षले ठेक्का बन्दोबस्त गरेको क्षेत्रको सरसफाइ नियमित गर्नुपर्नेछ। शौचालय प्रयोग प्रयोजनका लागि साबुन,रुमाल सरसफाइका सामग्री र अन्य बास्नादार वस्तुहरू अनिवार्य राख्नुपर्ने, प्रत्येक दिन बिहान ५ बजे, मध्यान्ह १२ बजे र साँझ ५ बजे शौचालय नियमित सरसफाइ गर्नुपर्नेछ।

तर, अहिले त्यहाँ न बास्नादार बस्तुहरू छन्, न हात धुने साबुन नै। अव्यवस्थित शौचालयको दुर्गन्धले वरिपरि समेत ओहोरदोहोर गर्दा नाक थुन्नुपर्ने अवस्था छ। यदी शौच गर्न भित्र छिर्नुपरेमा मास्क लगाउनुपर्ने बाध्यता छ।

त्यस्तै, दोस्रो पक्षले शहरी सेवा केन्द्रको हालको भौतिक संरचना परिवर्तन गर्न नपाइने ठेक्का सम्झौतामा उल्लेख छ। 

तर, पहिले रहेका संरचनामा नयाँ टहरा र पसल राख्ने ठेला थपिएको छ। अहिले ठेला सटर गरी त्यस ठाउँमा ४० भन्दा बढी सटर ब्लक बनाई  जुत्ता, चप्पल, लुगालगायत बेच्ने पसल सञ्चालित छन्। शौचालयभित्र नै खाजाघर र रेष्टुरेन्टहरू समेत सञ्चालनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.