|

काठमाडाैं : नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा अर्को खेलमा एपिएफले गण्डकी प्रदेशलाई हराएको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २ सय ३६ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि सौरभ खनालले ७४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन्। लुम्बिनीका कप्तान कृष्ण कार्कीले नटआउट ४० रन जोडे। यस्तै देव खनाल अर्धशतक पूरा गर्न एक रनले चुके। सन्दीप रजालीले ४० रन जोड्दा अन्य ब्याट्सम्यान १० रन भित्र समेटिए।

बलिङतर्फ पुलिसका राशिद खान र पवन सर्राफले २/२ विकेट लिए। दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र सागर ढकालको नाममा एक/एक विकेट रह्यो। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ३ सय १० रनको योगफल बनाएको थियो। पुलिसका लागि सुनिल धमलाले शतकीय इनिङ्स खेले।

करिअरको पहिलो शतक बनाउने क्रममा सुनिलले १ सय ४ रन जोडे। १ सय ४५ बलको सामना गरेका धमलाले ७ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ८५ रनको योगदान गर्दा विस्फोटक ब्याटिङ गरेका पवन सर्राफले १३ बलमा नटआउट ५० रनको अर्धशतकीय इनिङ्स खेले।

पवनले  ६ छक्का र १ चौका प्रहार गरेका थिए। पवनको यो घरेलु क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनेको छ। त्यस्तै आरिफ शेखले नटआउट २९ रन जोड्दा अमित श्रेष्ठले २८ रन बनाए।

बलिङमा लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले एक/एक विकेट आफ्नो नाममा लेखाए। जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले ३ खेलमा ४ अंक जोडेको छ।

पुलिस समूह तालिकाको दोस्रो स्थानमा ‍छ। पराजित लुम्बिनीको २ खेलमा २ अंक जोडेको छ।लुम्बिनी तेस्रो स्थानमा छ। यस्तै प्रतियोगिताको अर्को खेलमा आशिफ शेखको विस्फोटक ब्याटिङको मद्दतमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि ६ विकेटको जित निकाल्यो।

मूलपानी मैदानमा भएको खेलमा एपिएफले १ सय ७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर भेटाउँदा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। एपिएफलाई जिताउन अशिफ शेखले अर्धसतकीय इनिङ्स खेले।

५६ बलको समना गरेको आशिफले ६ छक्का र ५ चौकाको मद्दतमा ७८ रनको व्यत्तिगत रन बनाउँदा एपिएफले सहज जित निकालेको हो। दुई रन जोड्दा दुई विकेट गुमाएको अवस्थमा आशिफले सम्हालिएको प्रदर्शन गर्दै एपिएफको इनिङ्सलाई उकासेका थिए। सुमित महर्जनले १८ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

एपिएफको ४ विकेट निकाल्न गण्डकी प्रदेशका चन्द्रा पौडेल र विशाल पौडेलले समान २/२ विकेट हात पारे। एक खेलमा मात्र सुखद नतिजा निकालेको गण्डकी प्रदेशको यात्रा प्रतियोगिताबाट समाप्त भएको छ। चार खेल खेल्दा तीन खेल गुमाएको गण्डकीले समूह ‘ए’ तालिकामा दुई अंक मात्र जोड्न सक्यो।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको गण्डकीले ४६ओभरको समाप्तिमा सबै विकेट गुमाएर १ सय ६ रन जोडेको थियो। गण्डकीका लागि ओपनर समिर कंडेलले ३६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले इनिङ्स उकास्ने स्कोर छुन सकेनन्। विष्णु पाण्डे र दिपेश खत्रीले समान १५/१५ रन जोड्दा दिनेश बुढामगरले १२ रनको व्यत्तिगत स्कोर बनाएका थिए। अन्य ब्याट्सम्यान भने १० रन भित्र समेटिएका थिए।

गण्डकीलाई सस्तैमा समेट्न एपिएफका कमल ऐरीले सर्वाधिक ४ विकेट निकाल्दा अभिनाश बोहोर र कप्तान शरद भेषवाकरले समान २/२ विकेट आफ्नो नाममा लेखाए। दुई खेलबाट एपिएफको समूह ‘ए’ तालिकामा ४ अंक भएको छ। तीन खेलबाट तीनै जित निकालेको आर्मी समूह ‘ए’ को शीर्ष स्थानमा छ। आर्मीको ६ अंक रहेको छ। 

प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछ। मूलपानी क्रिकेट मैदानमा प्रदेश–२ र बागमती प्रदेश तथा त्रिवि मैदानमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुने छ।

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.