|

मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन्। एक सुत्केरी र उनको शिशुको उपचारमा लापरबाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिएका हुन्। 

उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ। संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए। 

कोरोना भाइरस आफ्नो देशमा भित्रिन नदिन मंगोलियाले गत वर्षदेखि नै नाकाबन्दीलगायत उच्च  सतर्कताका उपाय अपनाएको थियो। त्यसबीचमा पनि गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि फेरि प्रतिबन्धात्मक व्यवस्थाहरुलाई थप कडा बनाइएको थियो। 

कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा नवजात शिशुलाई भर्खरै जन्माएकी महिला र ती शिशुसँग कोरोनाभाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो। 

विरोधसँगै आन्दोलन भएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरुले माफी माग्दा पनि आन्दोलन झन झन् चर्किंदै गएको थियो।

आन्दोलनकारीहरुले सरकारी कार्यालयहरु अगाडि विरोध प्रदर्शन गरेका थिए। सरकारी अधिकारीहरुले गम्भीर कमीकमजोरी र लापरबाही गरेको आन्दोलनकारीको आरोप छ। 

आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्यक्त गर्दै क्षमा याचना गरेका छन्। भने, 'प्रधानमन्त्री भएकाले यो घटनाको जिम्मेवारी मैले लिन्छु।' 

'दुर्भाग्यवश ती आमा र शिशुलाई व्यवस्थापनमा केही कमजोरी भएकै हो, त्यो दृश्य हृदयविदारक नै छ, त्यसमा सरकारको तर्फबाट गल्ती महसुस गर्दै क्षमा याचना गर्न चाहन्छौँ,' उनले थपेका छन्।  

उनीविरुद्ध बुधबार पाँच हजार युवाले राजधानीमा प्रदर्शन गरेका थिए। उनीहरुले प्रदर्शन गरेको ब्यानरमा प्रधानमन्त्रीको राजीनामा पनि मागिएको थियो। 

राष्ट्रिय विपद् आयोगको नेतृत्व गर्नु भएका उपप्रधानमन्त्री र विभागीय जिम्मेवारीमा रहेका स्वास्थ्य मन्त्रीले भने प्रत्यक्ष जिम्मेवारी भएकाले आन्दोलनकारीको दबाबकै कारण यसअघि नै राजीनामा दिइसकेका थिए। त्यसैगरी लापर्वाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जिम्मेवार व्यक्तिहरुले पनि राजीनामा दिएका छन्। 

झण्डै एक दशक लामो कम्युनिस्ट नेताहरुको शासनपछि सङ्क्रमणमा फसेको मध्य एसियाली लोकतान्त्रिक मुलुक मंगोलियामा नयाँ संविधान जारी भएपछि पनि राजनीतिक स्थायित्व हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.