|

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहको आज उपत्यकामा हुने बृहत् जन प्रदर्शनलाई लिएर नेपाल प्रहरीले चासो देखाएको छ। 

प्रहरी प्रधान कार्यालयले आवश्यक सुरक्षा प्रवन्ध मिलाउन भन्दै मातहतका कार्यालयहरुलाई निर्देशन पनि दिएको छ।  मातहतका विभिन्न १२ वटा कार्यालयलाई एकमुष्ठ पत्र पठाउँदै कार्य एवम् अपराध अनुसन्धान विभागअन्तर्गतको कार्य महाशाखाले त्रुटीरहित भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलद्वारा हस्ताक्षरीत पत्रमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थप श्रोत साधन र जनशक्ति माग गरेबमोजिम आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

प्रहरीको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयलाई महानगरीय प्रहरी परिसरसँग समन्वय गरी नायब निरीक्षकको कमाण्डमा भीड नियन्त्रण पोशाक फुल गियरसहित सय जना थप प्रहरी पठाउन निर्देशन दिइएको छ। 

लेखा शाखालाई सवारी साधनमा आवश्यक पर्ने इन्धनको व्यवस्था मिलाउन निर्देशन गरिएको छ। भण्डार शाखालाई आवश्यक पोशाक र हातहतियार उपलब्ध गराउन निर्देशन गरिएको छ। पत्रमा सशस्त्र प्रहरी गण १ लाई महानगरीय प्रहरी परिसरसँग आवश्यक समन्वय गरी सवारी साधनसहित सईको कमाण्डमा ५० जना,प्रहरी विशेष कार्यदल र प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई ७५–७५ जना प्रहरी खटाउन निर्देशन गरिएको छ।

प्रहरी अस्पताललाई चिकित्सकसहितको एम्बुलेन्स महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा स्ट्याण्डबाई राख्न निर्देशन दिइएको छ। 

प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा यसअघि देशभर विरोध कार्यक्रम गरेको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा बृहत प्रदर्शन र सभा गर्न लागेको हो।

बिहान ११ बजे पार्टी स्थायी कमिटी सदस्यहरुको नेतृत्वमा विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ। माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्किनेछन्। जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तहरूलाई सहभागी हुन निर्देशन दिइएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईका अनुसार विभिन्न ठाउँबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा हुनेछन् । त्यहाँबाट पुतलीसडक, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुनेछ । प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन २ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।

जुलुस र सभामा काठमाडौं बाहिरबाट पनि सर्वसाधारण, नेता कार्यकर्ता र शुभेच्छुक सहभागी हुने बताइएको छ । जुलुसको नेतृत्व पार्टी प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, बेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाई, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, संघर्ष समितिका प्रवक्ता भट्टराई लगायतले गर्नेछन्।

विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.