|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–३ का यज्ञराज गौतमले आठ कट्ठा क्षेत्रफलमा रोपेका काउली बेच्नका लागि तयार भएको छ। तर, बिक्री गर्ने समय घर्केर काउली बिग्रिन थाले पनि उनले खरिदकर्ता पाएका छैनन्। दुई साताअघि प्रति किलो ५० देखि ५५ रुपैयाँमा बिक्री भैरहेको काउलीको मूल्य ह्वात्तै घटेर १० देखि १२ रुपैयाँमा झरेको छ।

‘काउली उत्पादन गर्दासम्म लागत खर्च प्रतिकिलो करिब २० रुपैयाँ पुगेको छ’ उनले भने, ‘लागत खर्च नै नउठ्ने गरी बजारमा घाटा खाएर काउली बेच्नु परेको छ।’ सिँचाइ, मलखाद, कीटनाशक, मजदुरको खर्च जोड्दा लागत खर्च निकै बढी हुने भए पनि थोरै मूल्यमा बेच्नु पर्दा घाटा लागेको उनले बताए।

विगतका वर्षमा व्यापारीहरु काउली खरिद गर्द गाउँमै आउने गरे पनि अहिले व्यापारी नआएको किसान वसन्ती चौधरीले बताइन्। ‘खेतमा धेरै काउली लगाएका छौं। बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नु परेको छ,’ उनले भनिन्, ‘ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दा समेत खेतमा काउली बिग्रने अवस्थामा पुगेको छ।’ ढुवानीका साधानको अभाव र थोरै मूल्यमा बिक्री गर्नु पर्ने अवस्थाले निराश भएको उनले बताइन्।

‘उत्पादन भएको काउली लगायतको तरकारी बिक्री गर्न निकै अप्ठ्यारो छ,’ उनले भनिन्, ‘उत्पादन गर्छौं, बजार भाउ पाउँदैनौंं। टाढाको बजारमा भाउ पाइए पनि समयमै ढुवानीका साधनको व्यवस्था गर्न नसक्दा त्यहाँ पुर्याउन सकिँदैन।’ बिक्री नभएर खेतमै बिग्रिएको तरकारी घरपालुवा जनावरलाई खुवाउन बाध्य भएको उनको गुनासो छ।

नव किरण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरीका अनुसार व्यापारीले सस्तोमा माग्ने र किसानले महँगोमा बेच्न खोज्ने कारणले तरकारी बिक्रीमा समस्या देखिएको हो। काउली उत्पादन सबै किसानले एकै समयमा गरेकाले पनि बजार मूल्य घटेको उनको भनाइ छ। बिचौलियाको भर नपरेर तरकारी उत्पादक किसानले सिधै व्यापारीसँग तरकारी बिक्री गर्दा समेत घाटा नलाग्ने गरी मूल्य पाउन सक्ने चौधरीको बुझाइ छ। त्यसका लागि व्यापारी र किसानबीच छलफल गरी उचित मूल्य निर्धारण गर्नु पर्ने वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउँछन्।

‘वडाका सबै परिवार तरकारी खेतीमा लागेका छन्,’ उनले भने, ‘तरकारी खेतीबाट सबैको घर खर्च चलेको छ। बजारीकरणको समस्या हल गर्नका लागि सबैको पहलको खाँचो रहेको छ।’

कृषि विकास शाखाका प्रमुख खड्क विकले मुख्यमन्त्री नमुना गाउँ कार्यक्रम अन्तर्गत वडा नम्बर ३ का तरकारी खेती गर्दै आएका किसानलाई आधुनिकीरण गर्नक लागि एक करोड रुपैयाँभन्दा बढी रकम लगानी गरिएको बताए। ‘लगानी अनुरुप किसानले तरकारी उत्पादन गरेका छन्,’ उनले भने, ‘सबै किसानले एउटै किसिमको तरकारी उत्पादन गर्दा बजार मूल्य थोरै पाएका हुन्।’

कञ्चनपुरका किसानका खेतमा काउली फलेको छ। माग थोरै छ। यस वर्ष उत्पादन धेरै भएको छ। त्यसैले पनि मूल्य घटेको विकले बताए। सहजै तरकारी बिक्री गर्न तरकारी संकलन केन्द्रको व्यवस्थासँगै ढुवानीका साधनको व्यवस्था गरिनु पर्ने उनले बताए।

यता नगरप्रमुख दिलबहादुर ऐले कृषि क्षेत्रमा क्रियाशील संघ संस्थासँग समन्वय गरी तरकारी बिक्रीका लागि देखिएको बजारको समस्या हल गर्ने बताउँछन्। उनले ढुवानीका साधनको व्यवस्था समेत मिलाउने आश्वासन दिए। नगरपालिकासँग रहेका टिपर किसानलाई साताको तीन दिन ढुवानीका लागि उपलब्ध गराईने उनले बताए।

वडा नम्बर ३ को पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी रहेको छ। यस गाउँका ६० प्रतिशतभन्दा बढी किसानले व्यावसायिक काउली खेती गरेका छन्। यहाँको काउली खेतीले झलारी, बनसमिति, कलुवापुर, दैजी, सिसैया, सुडा र महेन्द्रनगर लगायतको बजार धानेको छ। एक सिजनमा मात्रै यहाँँबाट ८० लाख रुपैयाँभन्दा बढीको काउली मात्रै बिक्री हुने गरेको छ। काउली, तितेकरेला, काँक्रा, लौका, गोलभेडा, खुर्सानी लगायतका तरकारी  मौसमी, बेमौसमी यहाँ उत्पादन हुने गरेका छन्। बाह्रै महिना किसानले तरकारी उत्पादन गर्छन्।

यसैगरी, कृष्णपुर नगरपालिकाको बालुवाफाँटा, सुन्दरीफाँटा, शुक्लाफाँटाको लक्ष्मीपुर, बेलडाँडीलगायत क्षेत्रका काउली खेतीमा संलग्न किसानलाई समेत काउली लगायतको तरकारी बेच्न बजारको अभाव भएको छ। खेतमा तरकारीको उत्पादन बढ्दो रुपमा भए पनि बजारीकरण गर्न नसक्दा कञ्चनपुरका किसान मार्कामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.