|

बझाङ : बागथलादेखि भोपुरसम्मको जयपृथ्वी राजमार्गमा कालोपत्रे गर्ने काममा कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीयले चासो राखेका छन्।

बिहीबार केही युवाले सडक अवलोकन गर्दा सडक कालोपत्रे गर्ने निर्माण सामग्रीमा कमसल सामग्री प्रयोग गरी सडक पिच गर्ने गरेको पाइएको हो। कालोपत्रे गरिएको अलकत्रालाई हातले उप्काउन मिल्ने गरी कालोपत्रे गर्न लागेको खबर आएपछि बझाङका युवाहरूले उक्त सडकको निगरानी गरेका थिए।

अवलोकन गर्न जाँदा कमसल निर्माण सामग्री प्रयोग गरेको, वर्षाको समयमा तथा रातारात काम गर्ने गरेको र सडकको धुलोलाई सफा नगरी अलकत्रा बिछ्याएको पाइएको स्थानीय अशोक मल्लले बताए।

सडक पिच गर्दा रिसोलिङ पिच गर्नुपर्ने ठाउँमा गिट्टी नराख्‍ने गरेको र मात्राअनुसार अलकत्रा प्रयोग नगरी सडक कालोपत्रे भइरहेको उनले बताए। साथै सडक मर्मतका बेला सडकलाई फराकिलो गरेर कालोपत्रे गर्नु पर्ने भए पनि त्यसो नगरिएको उनको भनाइ छ।

गल्ती भएको स्वीकार

यता, निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद खनालले कालोपत्रेको काममा गल्ती भएको स्वीकार गरेका छन्। ओटासिल सडक उप्कीसकेकोले सो मर्मतका लागि करिब ६ करोडमा कम्पनीसँग सम्झौता भएको भए पनि निर्माण कम्पनीले सडकको छेउमा जाली नहाल्ने, किनारामा नाला नबनाएर नै सडक मर्मत गरिरहेको पाइएको छ।

सडक निर्माणमा भइरहेको कमसल सामानहरु परिवर्तन गरी गुणस्तरीय सामान प्रयोग नगरेमा युवाहरूले कामलाई अवरोध पुर्‍याउने बताएका छन्।

सडक डिभिजन कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमाडौंलाई सो सडक कालोपत्रे गर्ने कामको जिम्मेवारी दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.